काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताएको छ ।
सोमवार पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको फोर जी सेवालाई अझ गुणस्तरीय बनाउने बताउनुभएको हो । उहाँले ५ जी सेवालाई परिक्षणमा लैजाने प्रक्रिया आरम्भ गर्ने पनि बताउनुभयो । प्रवन्ध निर्देशक अधिकारीले देशभरीको फाइबर बिच्छ्याउने कामलाई तिव्रता दिनेपनि उल्लेख गर्नुभयो । आगामी दिनमा कोरोना संक्रमणका कारण टेलिकमको काम नरोकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।
प्रवन्ध निर्देशक अधिकारीले टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नुभयो । टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उहाँले टेलिकमले कल ट्यापिङ नगरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘कल ट्यापिङको उपकरण नै छैन । कल ट्यापिङ गर्ने एल आइ. भन्ने उपकरण हुन्छ । त्यो उपकरण आयात गर्न दुरसञ्चार प्राधिकरण सँग अनुमति चाहिन्छ । हामी दुरसञ्चार सेवा प्रदायकले एल.आइ. इक्वीपमेन्ट किन्न पाइदैन ।’
उहाँले टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पु¥याउने दायित्वको साथ काम गरिरहेको बताउनुभयो ।