• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

सभामुख सापकोटा र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट



काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन सफल हुने विश्वास गर्नु भयो ।

नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं बर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं बर्ष मनाइरहेको सन्दर्भ स्मरण गर्नु भयो । उहाँले नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताका बीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राख्नु भयो ।

सभामुख सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनमा ठूलो योगदान पुर्याएको र नयाँ अध्यायको सुरुवात गरेको बताउनु भयो । दुबै देशबाट भएका उच्चस्तरीय भ्रमणले नेपाल भारत सम्बन्धलाई थप बलियो बनाएको उहाँको भनाई थियो ।

भेटमा सभामुख सापकोटाले कोभिड–१९ को महामारीका बेला भारतले आफू त्यस विरुद्ध जुधिरहँदा समेत नेपाललाई स्वास्थ्य सामग्री र खोप उपलब्ध गराउँदै एउटा छिमेकीको मात्रै नभएर मानवीयता प्रदर्शन गरेको भन्दै धन्यवाद ज्ञापन गर्नु भयो ।

उहाँले जलवायु परिवर्तन लगायत विश्व राजनीतिक मञ्चमा देखा परेका संकट समाधानमा दुबै देशले साझा समझदारी बनाउँदा राम्रो हुने धारणा राख्नु भयो । ‘विश्व शान्तिका लागि मिलेर अघि बढ्नु पर्छ’ सभामुख सापकोटाले भन्नु भयो । उहाँले भारतको लोकतान्त्रिक अभ्यासबाट नेपालले सिक्न चाहेको बताउँदै दुबै देशका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने धारणा राख्नु भयो ।

सभामुख सापकोटाले नेपालमा रासायनिक मल अभावले नेपाली किसान निकै चिन्तित रहेको बताउँदै भेटमा मलको विषयलाई महत्वका साथ उल्लेख गर्न चाहेको बताउनु भयो ।

सभामुख सापकोटासँगको भेटमा नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गर्नु भयो ।

लामो र ऐतिहासिक सम्बन्ध रहेको दुबै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उहाँले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राख्नु भयो । जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको बताउँदै राजदूत श्रीवास्तवले सामूहिक रुपमा समाधान खोज्नु पर्नेमा जोड दिनु भयो ।