• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन

मेरो भारत भ्रमणलाई सद्भावना भ्रमणको रुपमा हेरौंः प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सद्भावना भ्रमणको रुपमा रहेको बताउनुभएको छ ।

शुक्रवार भारतको ३ दिने भ्रमणका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो भारतको राजनीतिक भ्रमण सद्भावना भ्रमणको रुपमा रहेको बताउनुभएको हो । उहाँले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जान लागेको बताउनु भयो ।

उहाँले भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हीतलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो बनाउने सम्बन्धमा भारतीय सरकार र नेताहरुसँग आफ्नो कुरा हुने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले यो भ्रमणका लागि भारतसँग पहिले नै कुरा भएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणपछि आफ्नो भारत भ्रमण हुनुमा कुनै सम्बन्ध नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘छिमेकी मित्रराष्ट्र भारतको राजनीतिक भ्रमणको लागि जाँदैछु । यो भ्रमण मुख्यतः एउटा सद्भावना भ्रमणको रुपमा रहेको छ । नेपाल राष्ट्र र नेपाली जनताको हीतलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो कसरी बनाउने भन्ने विषयमा मेरो मुख्य रुपमा भारत सरकारका प्रतिनिधि र भारतीय जनता पार्टीका नेताहरुसँग कुरा हुन्छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख आउने र जाने कुरासँग यो जुलाई दोस्रो वा तेस्रो हप्तामा भारतमा औपचारिक भ्रमण गर्ने कुराको कुनै सम्बन्ध छैन म यो कुरा प्रष्ट पार्न चाहन्छु । अनावश्यक कन्फ्युजन कसैलाई नरहोस् भन्ने मेरो नेपाली जनतासँग कुरो छ । मैले शुरुमै भने यो सद्भावना भ्रमणको रुपमा छ ।’

अध्यक्ष दाहालले नेपाल–भारत सीमा समस्याको सम्बन्धमा कुटनीतिक सम्वादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुने बताउनु भयो । नेपालको विकासका लागि द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने, व्यापार सन्तुलनलाई कम गर्ने लगायतको विषयमा पनि छलफल हुने उहाँको भनाई छ । उहाँले द्विपक्षीय हीत हुनेगरी व्यापार र अन्य विकास निर्माणका कामहरु अगाडी बढाउने कुरा पनि हुने बताउनु भयो । आफ्नो भ्रमण राजनीतिक नेतृत्व, पार्टीहरु, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल राष्ट्र र नेपाली जनताको हीतलाई केन्द्रमा राखेर नेपाल भारत सम्बन्धमा विविध पक्षहरुमा चर्चा स्वभाविक रुपले हुने नै छ ।

मैले विगतमाझै यसपाली पनि नेपालको समग्र विकासको निम्ति द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने हिसावले, व्यापारको सन्तुलनलाई कम गर्ने विषयमा, इतिहासबाट कतिपय थाँति रहेका विषयलाई कुटनीतिक र सम्वादको माध्यमबाट टुंग्याउने कुरा, सीमानाका विषयलाई पनि त्यसरी नै कुटनीतिक सम्वादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने कुरा लगायत सबै विषयमा पक्कै पनि चर्चा हुन्छ । दुवै देशको आर्थिक हीत हुनेगरी, द्विपक्षीय हीत हुनेगरी व्यापार र अन्य विकास निर्माणका कामहरु कसरी अगाडी बढाउने भन्ने कुरा पनि स्वभावैले हुन्छ । र समग्रमा यो भ्रमण सद्भावना भ्रमण भएको हुनाले भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी र हाम्रो पार्टी पनि एउटा गठबन्धन भित्रको महत्वपूर्ण पार्टी भएको हुनाले दुई पार्टीका बीचमा एउटा सकारात्मक र सद्भावपूर्ण वातावरण निर्माण गर्ने र त्यसलाई सहयोग गर्ने कुरामा पक्कै पनि यो केन्द्रित हुन्छ । त्यसकारण यो भ्रमण अन्ततः दुवै देशका राजनीतिक नेतृत्व, पार्टीहरु, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा नै केन्द्रित हुन्छ ।’

उहाँले भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयसँग परामर्श लिएको बताउनु भयो । भ्रमण महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले आफू उत्साहका साथ भ्रमणमा गएको बताउनु भयो । दाहाल साउन १ गते आईतवार स्वदेश फर्किने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।