५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन, २०७९’ आजको बैठकमा पेश गर्नुभयो ।

उहाँले प्रतिवेदन पेश गर्नुअघि नेकपा (एमाले)का सांसद राजेन्द्र गौतमले सार्वजनिक लेखा समितिको नेतृत्वको प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने जिकिर गर्नुभयो । उहाँले संसदीय मूल्य र मान्यताअनुसार पनि सो समितिको सभापति आफूहरूले पाउनुपर्ने दाबी गर्नुभयो ।

त्यस्तै बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय विशेष समितिमा रहेको सदस्यको नाम हेरफेर गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

यसैगरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएका चार विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो ।

सचिव योगीले प्रस्तुत गर्नुभएको विधेयकमा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’, ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९’ छन् ।