गुरु ज्ञानको प्रतीक हो, विज्ञानको आभा हो, संस्कारको जरो हो, राष्ट्रको गौरव हो, परम्पराको सन्देशवाहक हो । कुल र मूललाई जोगाउन गुरुको भूमिका अहं हुन्छ । श्रद्धा र विश्वासको चौतारी, आड र भरोसाको जगलाई गुरु भनिन्छ । गुरु आज्ञाविना अघि बढ्दा दुर्योधन, बर्बरिक र एकलव्यको हालत हुन्छ ।
‘गु’को अर्थ अँध्यारो र ‘रु’को अर्थ उज्यालो अर्थात्, जसले अज्ञानरूपी अँध्यारोबाट ज्ञानरूपी उज्यालोतर्फ डो-याउँछ त्यो नै गुरु हो । गुरु कसैको दास र वेतनधारी हुँदैन । गुरुको ईशारामा शासक घुम्छन्, गुरुको आशीर्वादमा संस्कार फूल्छ, गुरुको छत्रछायाँमा विश्वविद्यालयहरु ओत लाग्छन् । ज्ञान र सीपमा पोख्त हुन गुरुले देखाएको मार्गमा हिड्नुपर्छ ।
गुरु भन्ने बित्तिकै टुप्पी पालेको, पहेँलो वा सेतो दौरासुरुवाल लगाएको, निधारमा टीका ग्रहण गरेको चित्र आउन सक्छ । आमा र बुबा पहिलो गुरु हुन् अनि कखरा सिकाई विद्यामार्गमा तातेताते गराउने दोस्रा गुरु हुन् । अज्ञानलाई नाश गर्ने, ज्ञानको ज्योति जगाइदिने, जीवनको बाटो देखाइदिने नै गुरु हो ।
भानुभक्तले घाँसीलाई गुरु ठाने, दत्तात्रेयले २४ गुरु माने, एकलव्यले द्रोणाचार्यलाई गुरुस्वरुपमा पुजे । वैदिक परम्पराअनुसार देश, काल, रुची, संस्कार, उमेर, क्षमता आदिबाट उपयुक्त देखिएमा शिष्य बनाई ज्ञानको पुस्तान्तरण र हस्तान्तरण गर्थे । व्रतबन्धदेखि २५ वर्षसम्म गुरुको आश्रममा बसेर ब्रम्हचार्य पालनसहित अध्ययन गर्नुपर्दथ्यो ।
पञ्चभूतका सारतत्व पृथ्वी, पृथ्वीको सारतत्व पानी, पानीकोसारतत्व औषधि, औषधिको फूल, फूलको फल, फलको मानिस र मानिसको सारतत्वलाई ब्रम्हर्य (रेत) मानिन्छ ।ब्रम्हर्यलाई पालना गरी अध्ययन गर्नुपर्ने हाम्रो संस्कारलाई अपनाएको भए छात्रा बलात्कार भएको समाचार सुन्नुपर्दैनथ्यो । गुरुले आफूमा भएको ज्ञान र अनुभव छात्र–छात्रालाई पढाइदिने, सिकाइदिने, अभ्यास गराइदिने परम्परा थियो । आफ्नो ज्ञान नदिई म-यो भने ब्रम्हराक्षस हुन्छ भन्ने डरले पनि शिक्षा सर्वसुलभ रूपमा पाइन्थ्यो । हामीले जीवनमा तीनवटा गुरुलाई नमः गर्न छुटाउनु हुँदैन ।
यवाज्जीवं त्रयो वन्द्या वेदान्तो गुरुरीश्वरः ।
आदौ विद्या प्रसिद्धय्र्थं कृतघ्नत्वापनुत्तये ।।
जवसम्म बाँच्दछौँ तबसम्म वेदान्तको गुरु जसले मुक्तिको कुरा बताउँछ, दोस्रो गुरु जसले शास्त्रको अध्यापन गराउँदै ईश्वरको सान्निध्यमा पु-याएर मुक्ति दिलाउँ छ । तेस्रो ईश्वर जसले चराचर जगत्लाई सञ्चालन गर्दछ उहाँहरुप्रति कृतज्ञ हुनुपर्छ । त्यसैले त गुरु छैन त केही छैन ।
गुरुको नाम सुन्नसाथ शिष्यको शरीर रोमाञ्चले भरिन्थ्यो, हृदय श्रद्धाले उम्लन्थो र शिष्यहरू गुरुको पवित्र चरणस्पर्श गर्नका लागि हतारिन्थे । त्यो समयमा संसारमा दुई थरिका मानिसहरूमात्र बसोबास गरेझैँ लाग्दथ्यो, एउटा गुरु अर्को चेला ।
गुरुले शिष्यलाई छोरा–छोरी, शिष्यहरूले शिक्षक–शिक्षिकालाई माता–पिता सम्झन्थे । राजाको सन्तान र कंगालको वंशमा विभेद थिएन । परशुरामले भीष्मपितामह, द्रोर्णाचार्य, कर्ण आदिलाई, सान्दिपनि गुरुले सुदामा र कृष्णलाई समभावले पढाए । विद्यार्थीले अध्ययनकालमा शुल्कको बिटो तिर्नुपर्दैनथ्यो ।
गुरुकुलको इज्जत, प्रतिष्ठा बढाउन शिष्यहरूले मनयोगले अध्ययन गर्थे । अध्ययन सकेपछि मात्र तन, मन र धनले सहयोग गर्दथे । विद्यार्थीहरू निमेक(ज्याला)का लागि होइन विवेकका लागि पढ्दथे । विद्या विवादाय धनं मदाय शक्तिः परेषां परिपीडनाय अर्थात्, “विद्या विवाद जित्न, धन घमण्ड देखाउन, शक्ति अरूलाई दुःख दिन आर्जन गरिँदैनथ्यो ।” गुरुको वचनलाई आशीर्वाद र मन्त्र मान्नेहरू वेदव्यास, गोरखनाथ, षडानन्, स्वर्गद्वारीमहाप्रभू, फाल्गुनन्द महागुरुजस्ता उदाहरणीय शिष्य बन्दछन् ।
आजका विद्यार्थी भोलिका सचिव, प्रधानसेनापति, प्रधानन्यायाधीश, प्रधानमन्त्री, राष्ट्रपति हुन्छन् । अध्ययनकै समयमा सधाइएन, सिकाइएन भने तिनीहरूले समाज र राष्ट्रको मुहार कसरी हसाउन सक्छन् र ? विद्याया अर्थी विद्यार्थी अर्थात् विद्या प्राप्त गर्ने अर्थी (स्वार्थी) नै विद्यार्थी हो । विद्यार्थीले अध्ययनपछि न त गुरुलाई सम्झन्छ, न त समाज र राष्ट्रलाई हित गर्दछ । विद्यार्थीले आफ्नो ज्ञानलाई द्रव्य सङ्कलन र पेटपालनमा सीमित बनाउँछ । शिक्षा र सरस्वती कहिल्यै बन्ध्या हुँदिनन् तर त्यसका लागि गुरुको वचन वा मार्गदर्शनलाई अनुशरण गर्नुपर्छ ।
गुरुमुख्याः क्रियाः सर्वाः भुक्तिमुक्तिफलप्रदाः ।
तस्माद् सेव्यो गुरुर्नित्यं मोक्षार्थिभिः समाहितैः ।।
अर्थात्, “गुरु सबैको भुक्ति–मुक्तिको कारक हो । मोक्ष वा योग्यता चाहने शिष्यहरूले गुरुको सेवा गर्दै विद्यार्जन गरोस् ।” मिहिनेतबाट प्राप्त ज्ञान र सीपमात्र भविष्यमा उपयोगी हुन्छ । सजिलै पाइएको वस्तुको अर्थ हुँदैन, महत्व बुझिँदैन । टेलिभिजन, पत्रिका, नेट आदिबाट प्राप्त सूचना ज्ञान होइन जानकारी हो । योग्य र संस्कारी गुरुका साथमा रही ज्ञान लिनुपर्छ ।
छात्र हुँदाको परिश्रम बुझेमात्रै विद्याको महिमा थाहा हुन्छ । अध्ययन अवधिमा कागको जस्तो चेष्टा(होशियारी), बकुल्लाको जस्तो एकाग्रता, कुकुरको जस्तो छोटो निद्रा, आवश्यकमात्र भोजन, ब्रéचर्यको पालन आदि नियम अनिवार्य हुन्छ । हरेक क्षेत्रमा सफलता पाउन परिश्रम र पुनरावृत्ति गर्न छोड्नुहुँदैन, नियमलाई तोड्न हुँदैन, ध्यानलाई मोड्न हुँदैन, आलस्यलाई जोड्न हुँदैन ।
चाणक्यनीतिमा भनिएको छ–
सुखार्थी चेत् त्यजेद्विद्यां विद्यार्थी च त्यजेत् सुखम् ।
सुखार्थिनः कुतो विद्या विद्यार्थिनः कुतो सुखम् ।।
अर्थात्, “सुख चाहनेले विद्या त्याग्नुपर्छ, विद्यार्थीले सुख त्याग्नुपर्छ, सुख चाहनेले कसरी विद्या प्राप्त गर्न सक्छ र ? विद्यार्थीले कसरी सुख प्राप्त गर्छ ?” छोराछोरीलाई संस्कार होइन सम्पत्ति दिने लहरले विद्यार्थी बढ्दै छात्रछात्राको संख्या घट्दै गएको छ । विद्यार्थीले अनावश्यक बाटो, विधि अपनाएर अभिभावकका सपनालाई भताभुङ्क बनाउँदैछन् । ज्ञानलाई भन्दा ज्यान(शरीर)लाई, पढाईमा भन्दा लडाइँमा, सुन्नमा भन्दा बोल्नमा, शिक्षकको सल्लाहमा भन्दा हल्लामा, ध्यानमा भन्दा ध्वंशमा, चिन्तनमा भन्दा गन्थनमा ध्यान दिएपछि शिक्षा र संस्कार कसरी बाँच्न सक्छ ? ज्ञानलाई बचाई राख्न, विज्ञानलाई फूलाई रहन, विवेकलाई जगाइरहन गुरुको अपरिहार्यता दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
गुरुबाट ऋषि परम्परा, ज्ञानको धारा, अनुसन्धानको तन्तु चल्दै आयो । गरिबी, भ्रष्टाचार, कुसंस्कार, अविकासलाई पूर्णरूपमा बिदा गर्न वर्तमान समयमा माष्टर र सर होइन गुरुको परम आवश्यक छ । सरहरुले शुल्क तिर्न नसक्ने विद्यार्थीहरुलाई विद्यालय र विश्वविद्यालयमा छिर्न दिँदैनन् । अहिलेको शिक्षाले अर्थ नहुनेहरुलाई अध्ययन गर्न दिँदैन । गुरुले अध्ययनलाई पेशा र पैसामा होइन परिश्रम र साधनामाथिको लगाव हेरी हस्तान्तरण गर्दथे । कुनै पनि चेलाले अर्थको अभावमा अध्ययनलाई छोड्नुपर्दैनथ्यो । यहीकारण गुरुबाट ऋषिहरू जन्मिए, वीरहरू पैदा भए, ध्यानीहरू उत्पन्न भए, ज्ञान र विज्ञान फुले, सुख र शान्ति मौलाए त्यसैले प्रतिदिन गुरुको जरुत बढ्दै गएको छ । शिष्य नै नबनी गुरु हुन खोज्दा हाम्रो ज्ञान ओइलाएको छ, विज्ञान खिइएको छ, परम्परा चाउरिएको छ, संस्कार सुक्न थालेको छ । गुरुबाट ज्ञानको पुस्तान्तरण र हस्तान्तरण हुन्छ । त्यसैले गुरुको गरिमा र महिमा अहिले अझ तड्कारो रुपमा खड्किएको छ ।
हामी ज्ञान र ज्ञानीलाई पुज्छौँ । गुरु नै ज्ञानको सागर हो त्यसैले गुरुलाई पुज्न गुरुपूर्णिमाको जन्म भयो । गुरुपूर्णिमाकै दिनमा वेदव्यासको स्मरण, पूजन गरिन्छ । नेपालमा जन्मी, हुर्की आफूलाई अक्षरसाधनामा समर्पित गरेका वेदव्यास ज्ञानका भण्डार थिए । उनले वेदलाई संकलन गरे, पुराण लेखे, अनेक ग्रन्थ रचना गरे । योगीराज नरहरिनाथज्यूले दमौलीमा वेदव्यास जन्मिएको सिद्ध गरिदिनुभएको थियो । यो विषय जनस्तरमा स्थापित भए पनि अन्तराष्ट्रियकरण गर्न सकेका छैनौँ ।
गौतमबुद्धलाई नै नेपाली नागरिकता दिन नसकेको सरकारले वेदव्यासको बारेमा कसरी मुख खोलोस् ? तथापि वेदव्यासले वेद र पुराणलाई यहीँ भूमिमा लिपिबद्ध गरेको विषयलाई प्रष्ट पार्ने धेरै आधार हामीसँग छन् । कार्ल मार्क्स, जिसस, लेलिनका कर्खा गराउनेको वेदव्याससँग कुनै नातो छैन तथापि वेद, पुराण, तन्त्र, यन्त्र, साधना, योग, आयुर्वेदलाई मान्नेहरुले वेदव्यासलाई भुल्नु कृतघ्नताको पराकाष्टा हो ।
गौरीशंकर हिमालमा विश्वामित्रले गायत्रीमन्त्रको साक्षात्कार गरे । पराशर ऋषि यही भूमिका विरुवा हुन् । दमौलीका माछाले मत्स्यगन्धा र पराशरको प्रेमकाहानी बताउलान् तर राज्यले यससम्बन्धमा बुझ्ने कान थुनेको छ, बोल्न पर्छ भनी मुखमा पट्टी लगाएको छ, लेख्न पर्छ भनी हात बाँधेको छ, हेर्नुपर्ला कि भन्ने डरले शिर लुकाएको छ । वेदव्यासका नाममा बिदा दिने, उनका योगदानलाई चर्चा गर्ने फुर्सद पनि छैन र आवश्यकता पनि ठान्दैन ।
वेदव्यासले डलर दिँदैनन्, विदेश घुम्ने निम्तो पठाउँदैनन् । जातका नाममा रोइलो गर्नेहरुले दलित र शूद्रका आद्यगुरु वेदव्यासलाई कहिल्यै सम्झदैनन् । वेदव्यास सबैभन्दा धेरै ग्रन्थ लेख्ने पहिलो शूद्र हुन् । वेदलाई संकलन गरी विभाजन गर्ने पहिलो दलित वेदव्यास हुन् ।
माझीको नाति भएर पनि संस्कृतको श्रीवृद्धिमा सबैभन्दा धेरै खटिएका अछुत पनि वेदव्यास नै हुन् । छुवाछुतको अखण्ड दियो बाल्नेहरुले वेदव्यासलाई किन भुले ? गुरुपूर्णिमालाई किन विर्से ? आश्चर्यको विषय छ । यसका भाष्यकारहरुका नजरमा वेदव्यास किन परेनन् त्यो सोचनीय विषय हो । नेपालका पुत्र वेदव्यासलाई संझनाका खातिर पनि गुरुपूर्णिमा मनाउनुपर्छ ।
अक्षर चिन्न खोज्ने, सीप सिक्न चाहने, परिश्रम गर्न रुचाउने हरेकले गुरुपूर्णिमालाई उत्सवको रुपमा मनाउन आवश्यक छ । अधिकांश ऋषि र सन्तहरुले नेपालमा जन्मिएर कुनै समय दुनियाँलाई सिकाउने, सदाउने, सहयोग गर्ने गरेको इतिहासले बताउँछ । यसैले नेपाल ऋषिभूमि, देवभूमि, मन्दिरैमन्दिरको देश थियो र गुरुराष्ट्र मानिन्थ्यो ।
यो इतिहासलाई अक्षुण राख्न पनि गुरुपूर्णिमा भव्य तथा सभ्य रुपमा मनाउनुपर्छ । गुरुपूर्णिमा कुनै जात, धर्म, भूगोलविशेषको पर्व होइन । केही गर्न चाहने, केही बन्न खोज्नेलाई गुरु चाहिने हुँदा गुरुपूर्णिमा सबैले मनाउनुपर्छ । गुरुले ज्ञान तन्तुलाई जोगाइराख्ने, शिष्यलाई जगाइराख्ने हुँदा गुरुपूर्णिमा उत्सव हो, साधनाको अवसर हो, आफूलाई बाटो देखाउने ईश्वरको दर्शन गर्ने पर्व हो ।