जसले इतिहासमा नयाँ कामको थालनी गर्दछ उसले आफ्नो समयको चिन्तन, चेतना र आवश्यकताअनुरूपका सामग्री प्रस्तुत गर्दछ । तीक्ष्ण चेतनाले भावी सम्भावनाको गोरेटो खनेपछि युगीन प्रतिभाहरू त्यसलाई विशाल राजमार्गको रूप दिँदै अघि बढ्दै जान्छन् । त्यसै क्रममा देखा परेको छ ‘भानुभक्त आचार्यको जीवनवृत्त ।’
भानुभक्त नेपाली वाङ्मयका अरुणोदय थिए । उनले देशवासीहरूलाई ‘जाग र नयाँ सिर्जनामा लाग !’ को दूरगामी सन्देश दिए । यही ‘नेपाली माटोमा’ ७१०० वर्षअघि विश्वकै आदिकवि वाल्मीकिले सीताराम युगलको महाकाव्य लेखेर भावी नेपाल र भारतको साहित्यिक, सांस्कृतिक सम्बन्धको शिलान्यास गरेका थिए ।
वाल्मीकिका राम नितान्त मानव थिए । उनले भनेका थिए— ‘आत्मानं मानुषं मन्ये रामं दशरथात्मजम्’ (म आफू लाई देवता हैन, दशरथको छोरा राम मान्दछु । वाल्मीकि रामायण, उत्तरकाण्ड, अ.११७÷११—१२) । त्यस युगमा अवतारवादको कल्पना भएको थिएन । आर्यमूलका रामले द्रविड मूलका प्रतिद्वन्द्वी रावणको वध गरेपछि विन्ध्याचल उत्तरका अधिकांश मानिसले रामलाई महान् वीर भन्न थाले । वीरगाथा चल्दै जाँदा पछि अवतारवादको कल्पना भयो ।
भानुभक्तको युगका राम विष्णुका साता अवतारमा दह्रिसकेका थिए । उनको कृति ‘रामायण’ साहित्यविद्हरूका लागि पहिलो विशिष्ट नेपाली आदिमहाकाव्य बन्यो भने धार्मिक जनताका लागि भक्तिपूर्वक पाठ गर्ने विषय भयो ।
भानुभक्तको कृति र स्मृतिलाई मोतीराम भट्टले उज्यालोमा ल्याउँदा त्यस समयका कुरा जस्ताको तस्तै आए या कतिपय कल्पनाका पक्ष पनि थपिन आए ? यस्ता प्रश्नका साथै तत्कालीन समयका अन्य विविध पक्षको विस्तृत सोधखोज र विवेचनसहित ‘भानुभक्त आचार्यको जीवनवृत्त’ प्रस्तुत गरेका छन्— नरेन्द्रराज प्रसाईले ।
नरेन्द्रराज प्रसाई समकालीन नेपाली साहित्यको निबन्धविधामा जीवनी, संस्मरण र समीक्षा क्षेत्रमा अत्यधिक कलम चलाउने अद्भुत जाँगरीका रूपमा प्रस्तुत भइरहेका छन् । त्यही शृङ्खलाको उनको कृति हो— ‘भानुभक्त आचार्यको जीवनवृत्त’ ।
नेपालका साहित्यकार, साहित्यानुरागी र राष्ट्रलाई विशिष्ट योगदान दिने पूर्वज एवम् समकालीन विविध व्यक्तित्वहरूको खोज, मूल्याङ्कन, प्रकाशन, सम्मान र पुरस्कार आदि क्षेत्रमा प्रसाईको विशिष्ट भूमिका रहँदै आएको विदितै छ । यस्ता विविध कार्यहरूमा नरेन्द्र र इन्दिरा दम्पती अथक रूपमा खटिरहेका देखिन्छन् । उनीहरूले ‘नइ प्रकाशन’ मार्पmत साहित्यका विविध विधाको प्रकाशनका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका साहित्यसम्मेलन र स्रष्टाहरूको सम्मानका अनेक शृङ्खला सञ्चालन गर्दै आएका छन् ।
भानुभक्त आचार्यको द्विशतवार्षिकी नेपाली साहित्य क्षेत्रको ऐतिहासिक महŒवको विशिष्ट महोत्सव थियो । त्यस सन्दर्भमा नरेन्द्रराज प्रसाईले ‘भानुभक्त आचार्यको जीवनवृत्त’ कृति प्रकाशित गरेका छन् । भानुभक्तको जीवनचरित्र सर्वप्रथम मोतीराम भट्टले प्रकाशित गरेका थिए । मोतीरामले भानुभक्तको जीवनी लेख्नुअघि आदिकविबारे नेपाली समाजलाई केही थाहा थिएन ।
मोतीरामले भानुभक्तको जीवनी लेखेर उनका कृति प्रकाशित गर्न थालेपछि मात्र भानुभक्त चम्केका थिए । मोतीरामपछि भानुभक्तकी नातिनी विष्णुमायाले पनि ‘भानुभक्त मणिमाला’ मार्फत भानुभक्तका थप सेरोफेरोलाई अगाडि ल्याइदिइन् । उनी मार्फत पनि कति सत्य कुरा र कति असत्य कुरा जनसमक्ष आए गहिरिएर कसैले त्यसको लेखाजोखा गरेको पनि पाइएन । त्यसपछि भानुबारेका जीवनी लेखक र समालोचकहरूले कतै मोतीराम र कतै विष्णुमायाका लेखनलाई पछ्याउँदै जान थाले ।
यी व्यहोराले भानुभक्तका जीवनीका केही प्रसङ्ग पनि धमिलो र अपत्यारिलोसमेत हुन थाल्यो । भानुभक्तको व्यक्तित्वका प्रसङ्गलाई बटारबुटुर पारेर प्रस्तुत गरिने होडबाजी हुन थालेपछि पाठकलाई सत्य कुन हो र असत्य कुन हो छुट्ट्याउन गाहाे भइसकेको थियो । त्यसमाथि पनि भानुभक्तका मौलिक कवितालाई समेत बङ्ग्याएर यो नै भानुभक्तको वास्तविक कविता हो भनेर प्रकाशित गरिनाले भानुभक्तको व्यक्तित्व र कृतित्वमा नै एक प्रकारको अन्योल सृजना भएको थियो । ती सबै भ्रम, शङ्का र उपशङ्कालाई चिरेर नरेन्द्रराज प्रसाईले ‘भानुभक्त आचार्यको जीवनवृत्त’ लेखेका छन् । यसलाई भानुबारेको सार्थक र विशिष्ट उपलब्धि मान्नुपर्छ ।
भानुभक्तबारे भ्रमका अनेक खेती नभएका होइनन् । मोतीराम भट्टको कृतिमा उनले ‘घाँस बेचेर पाएको पैसाले यात्रीहरूलाई पानी खुवाउन कुवा खनाएको’ कुरा जस्ता कतिपय विषय काल्पनिक हुन्, किनभने नेपालका गाउँमा घाँस किनबेच गर्ने चलन थिएन भन्ने जस्ता केही विषय चर्चामा रहँदै आएका थिए । उनका अन्य कतिपय विषय पनि अन्दाजको भरमा लेखिएको भन्ने टिप्पणीसमेत उठ्दै आएका थिए । अन्वेषक लेखक नरेन्द्रराज प्रसाईले त्यसखाले विविध पक्षको सोधखोज गरी तथ्य प्रकाशन गरेका छन् । तत्कालीन भानुभक्तका विविध पक्षको चर्चा सन्दर्भमा प्रसाईले लेखेका मध्ये मेरो मन छोएको एक अंश यस्तो छ—
“यस पृथ्वीमा रहेका नेपाली मनले भानुभक्त आचार्यलाई नेपाली भाषाको एकताका केन्द्रको रूपमा स्वीकार्नेछन् । त्यसैले नेपाली संसारमा भानुभक्त घरघरका खोपादेखि बैठकसम्म र स्कुलकलेजदेखि सभासम्मेलनसम्मका श्रद्धेय महापुरुष बने ।”
प्रसाईको कुरा मलाई विशेष मन पर्नुको कारण हो— बहुचर्चित माक्र्सवादी समालोचक गोविन्द भट्टले लेख्नुभएको छ— “उनको (भानुभक्तको) रामभक्ति नेपाली जनताका निम्ति मुक्तिको ओखती नभएर दासत्वको बन्धन हुन पुगेको छ । यसरी भानुभक्त १९१० देखि यता नेपाली जनताका लागि वरदान नभएर अभिशाप नै सिद्ध भएका छन् ।” (भानुभक्त र आजको नेपाल ः ‘भानु’ भानुभक्त विशेषाङ्क, २०२८, पृ. २२१) ।
के भानुभक्तको युगमा नेपालमा भौतिकवादी चिन्तन व्यापक रूपमा भएको थियो र ? यदि त्यसरी भानुभक्तको आलोचना गर्ने हो भने प्राचीन कालका वेद, उपनिषद्, रामायण, महाभारत आदि सबै ग्रन्थहरूलाई नै जनताका लागि अभिशाप भन्न उचित होला त ?
हामीले सबै महत्वपूर्ण प्राचीन ग्रन्थहरूलाई त्यस समयको परिवेश बुझेर मात्र मूल्याङ्कन, विवेचन गर्नुपर्ने हैन र ?
प्रसाईकृत भानुजीवनीमा भानुभक्त नेपाली मानसपटमा कसरी व्याप्त भएका छन् र सर्वत्र श्रद्धेय भई ध्रुवताराझै कसरी अटल छन् भन्ने दृढ आस्था व्यक्त भएको छ ।
नेपालमा जातीय र भाषिक विविधता भएको सन्दर्भमा भानुभक्तलाई पराई सम्झने प्रवृत्ति पनि यदाकदा देखा पर्दछ । अधिकांश नेपालीले पूरै या आंशिक रूपमै भए पनि नेपाली भाषालाई साझा भाषाको रूपमा स्विकार्नै पर्ने अवस्था भएकाले क्रमशः समाज त्यस दिशातिर अघि बढ्ने विश्वास रहेको छ लेखक प्रसाईको ।
भानुभक्तले राष्ट्रिय विभूतिको सम्मान पाउनु उनले नेपाली मन र भावनालाई क्रमशः आत्मीय भावमा आबद्ध गर्न सकेको ऐतिहासिक योगदानको परिणाम हो । यही भावनात्मक योगदानको पक्षलाई अझ सुदृढ पार्दै लैजान सरकारले एक करोड रुपियाँ समर्पित गरी भानुभक्तका दुई शताब्दीको जयगान गरेको हो ।
भानुभक्तको द्विशतवार्षिकीलाई भव्य रूपले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मनाउने सहज वातावरण बनाउन नरेन्द्रराज प्रसाईले खेलेको विशिष्ट भूमिकाप्रति हामी सबैजसो साहित्यकार सुपरिचित छाै । यस्ता बृहत् आयामका कार्यक्रम देश र विदेशमा समेत सञ्चालन गर्न विशिष्ट क्षमताको आवश्यकता हुनु नितान्त स्वाभाविक हो ।
त्यो महान् कार्य सम्पन्न गर्ने सर्जकको नाउँ हो— नरेन्द्रराज प्रसाई । दुई वर्षव्यापी भानुमहोत्सव विश्वका अनेक देशमा पैmलिएका सात सयभन्दा बढी वाङ्मयसेवीहरू पुरस्कृत र सम्मानित भएको ऐतिहासिक घटना थियो । नेपालभरि सरकारले भानु महोत्सव गठन ग-यो भने विश्वका पच्चीसौँ राष्ट्रमा पनि सरकारद्वारै भानु द्विशतवार्षिकी समारोह समिति गठन गरेको थियो । भानुबारे विश्वभरिबाट दर्जनाै कृति प्रकाशित भएका थिए । यी सबै कामको परिकल्पना र प्रबन्धन नरेन्द्रराज प्रसाईबाटै भएको थियो ।
भावनात्मक र सिर्जनात्मक प्रेरणा मिल्ने ठाउँलाई तीर्थस्थल मान्दै आएका छन् मानिसहरूले । नेपाली जनमानसमा साहित्यको पूmलबारी ढकमक्क सजाइदिने भानुभक्तको जन्मस्थललाई नेपाली साहित्यको प्रेरणादायी तीर्थस्थल बनाउने लेखक प्रसाईको गौरवमय विश्वास छ ।
मैले माथि घाँसीबारे सन्दर्भ उठाएको पनि थिएँ । भानुभक्तलाई उत्प्रेरित गर्ने घाँसीको कथा मेरो विचारमा नेपाली वाङ्मयको गौरवमय गाथा हो । ‘घाँस बेचेर जम्मा गरेको पैसालाई अभिधाका रूपमा बुझेर त्यसलाई विवादास्पद बनाउने कुरामा लेखकको कलम नचलेको भए हुन्थ्यो भन्ने मलाई लाग्दछ । हाम्रा गाउँघरहरूमा हलोकुटो चलाएर, अरूको गाईभैसी चराएर, बेसीको घाँस, धान, पराल डाँडामाथि पु-याएर, नुन र कपडाका भारी बोकेर पाएको ज्याला सँगाली स्कुल बनाउन चन्दा दिएका उदाहरण यत्रतत्र भेटिन्छन् । घाँसीले घाँसै नबेचेर कसैको गोठालो बसेको पनि हुन सक्थ्यो कि ! तिनै गोठालोले एकदुई पैसा जोडेर कुवा खनाएको पनि हुन सक्तैन र ?
नरेन्द्रराज प्रसाईले लेखेको यस जीवनवृत्तमा भानुभक्तकालीन र त्यसपछिका साहित्यिक सिर्जना र गतिविधिहरूसम्बन्धी अनेक सूचना लेखको पेटबोलीभित्रै र पादटिप्पणीहरूमा समेत यत्रतत्र व्यक्त भएका छन् ।
भानुभक्तले साहित्य सिर्जना गरेबाहेकका अन्य व्यावहारिक विषयको पनि चर्चा भएको छ । लेखमा प्रस्तुत पादटिप्पणीहरू पनि भानुभक्त सम्बन्धित विविध विषयका सूचक बनेका छन् । अहिलेसम्म प्रकाशित भानुजीवनीहरूभन्दा प्रसाईद्वारा लेखिएको भानुजीवनीले धेरै सूचना दिएको छ ।