२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र अष्ट्रेलियन राजदूत बीच भेटवार्ता



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फ्यालिसिटी भोल्क बीच भेटवार्ता भएको छ । सोमबार भएको सो भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र अष्ट्रेलिया बीचको सम्बन्ध अझ सुदृढ हुँदै जाओस् भन्ने चाहना व्यक्त गर्नुभयो । गण्डकी प्रदेशको विकासमा विशेष गरी शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, प्रविधि प्रवद्र्धनमा अष्ट्रेलियाको सहयोग आफूहरूका लागि अपेक्षित रहेको उहाँको भनाइ थियो ।

नेपाल र अस्ट्रेलियाबीचको कूटनीतिकसम्बन्ध सन् १९६० मा स्थापना भए पश्चात् दुई देशबीचको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहँदै आएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । दुबै देशको शिक्षा र पर्यटन क्षेत्रको संलग्नताले गर्दा आपसी सम्बन्ध जनस्तरसम्म फैलिएको उहाँले उल्लेख गर्नुभयो । अस्टे«लियन डेभलपमेन्ट कोअपरेसन कार्यक्रममा १९७९ मा नेपाललाई समावेश गराइएपछि आपसी सहयोग अझ बढेको उहाँले स्मरण गर्नुभयो । अस्ट्रेलियन सरकार र निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, वन वातावरण, प्रविधि, मानव विकास, ग्रामीण विकास, शान्ति निर्माण प्रक्रियामा महत्वपूर्ण सहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले सो कार्यको प्रशंसा गर्नुभयो ।

नेपालले कपडा, कार्पेट, पेन्टिङ आदि अस्ट्रेलिया निर्यात गर्दै आएको छ भने नेपालले प्रशोधित तेल, तरकारी आदिको आयात गर्ने गर्दछ । अस्ट्रेलिया नेपालीका लागि प्यारो घरजस्तो भएको उल्लेख गर्दै मुख्यमन्त्रीले ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी अस्ट्रेलियामा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गएको उल्लेख गर्नुभयो ।

नेपाली विद्यार्थी र अष्ट्रेलियामा बसोबास गर्ने नेपालीप्रति अष्ट्रेलियामा देखाइएको सहयोगका लागि मुख्यमन्त्रीले आभार व्यक्त गर्नुभयो । प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालय र अस्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यका लागिसमेत मुख्यमन्त्री पोखरेलले चासो व्यक्त गर्नुभयो ।

राजदूत भोल्कले अस्ट्रेलिया सरकारले नेपालमा लामो समयदेखि शासकीय सुधारका क्षेत्रमा काम गर्दै आएको बताउँदै अहिले पनि सङ्घीयता सुदृढीकरणमा आर्थिक र प्राविधिक सहयोग गरिरहेको जानकारी गराउनुभयो । राजदूत भोल्कले सोमबार नै पोखराको हरियोखर्कस्थित ग्रिन पास्चर अस्पतालमा स्थापित अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ ।

कोभिडका बेलामा नेपाल सरकारले दातृ निकायसँग गरेको आग्रह अनुसार अस्ट्रेलियाले सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । अहिले पनि कोभिडबाट प्रभावितका लागि आर्यआर्जनका क्षेत्रमा आइएनएफमार्फत् काम हुँदै आएको उहाँले बताउनुभयो । जीविकोपार्जन, आयआर्जन, अपाङ्गता भएकाको लागि सवलीकरण कार्यक्रममा आफूहरूले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

गण्डकी विश्वविद्यालयसँग अस्ट्रेलियाका शैक्षिक संस्थासँग सहकार्यका लागि समन्वय गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । अक्त अवसरमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा संसदीय मामिलामन्त्री विन्दुकुमार थापाले सङ्घीयता कार्यान्वयमा देखिएका चुनौतीका बारेमा अनुभव सुनाउनुभयो ।