१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउँदो चुनावमा गठबन्धनलाई सात दिन उठ्नै नसक्नेगरी पछार्ने ओलीको चेतावनी



अ+ अ-

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सात दिन उठनै नसक्नेगरी पछार्ने चेतावनी दिनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमती, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरुलाई एकमुष्ट रुपमा उठनै नसक्नेगरी पछार्ने बताउनु भएको हो । शुक्रबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले सत्तारुढ गठबन्धन आगामी निर्वाचनमा धुलोपिठो हुने भयले पनि नटुटने तर्क गर्नु भयो । एमालेले गठबन्धन दलहरुसँग वान बाई वान लडनु भन्दा एकमुष्ट लड्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पाँच वटै दललाई एकमुष्ट रुपमा चुनावमा लडन चुनौति दिनु भयो । उहाँले आफ्नो दल जनताको पवित्र मतबाट विजयी हुने दावी समेत गर्नु भयो । 

अध्यक्ष ओलीले भन्नु भयो,  ‘मलाई समाचार देखाएको देख्नु भयोहोला । त्यसमा ‘गठबन्धनमा सहमती । एमसीसी पास हुने । गठबन्धन पनि नटुट्ने’ उल्लेख गरिएको छ । यो गठबन्धन टुट्दैन, टुट्नु हुँदैन । यो टुट्यो भने बिचराहरु धुलोपिठो हुन्छन । हामी पनि यो किस्ताकिस्तामा एउटा यता छ, एउटा उता छ । यो भन्दा एकमुष्ट पाँच वटा दल । हामीले फेरी लडन आमत्रण गर्दा वान बाई वान भन्छन नि । हामी त्यस्तो गर्दैनौं । वान बाई वानवाला हामी होइनौं । पाँच वटै एकैचोटी आऊ । बैशाख ३० गतेको चुनाव सार्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइयो । फेरी त्यो मुद्धा दर्ता गरिराख्या छ । हामी बुझ्दैनौं । गठबन्धन टुट्छ ? यिनको हुत्ती छ–गठबन्धन टुटाएर एक्लै चुनाव लडने कसैको ? ठिक छ, बैशाख ३० गतेसम्म एक झट्का, एक पटक हामी त्यहाँ सात दिन नउठनेगरी पछार्छौं । यिनीहरुको जस्तो सडकमा ढुंगा हानेर होइन्, जनताको पवित्र मतबाट ।’

अध्यक्ष ओलीले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताउनु भयो । एक सय ६५ भोट सरकारसँग छ, एमसीसी पास गर्न कस्ले रोकेको छ ? उहाँको सत्तारुढ दलप्रति प्रश्न थियो । ओलीले एमसीसीप्रति संकेत गर्दै आफ्नो पार्टीले देश र जनताको हितभन्दा बाहिर गएर कुनै पनि निर्णय नलिने स्पष्ट पार्नु भयो । उहाँले पुतलीको कथा उर्धृत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दोहोरो चरित्र देखाईरहेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सहि हो, कुन गलत हो ?’

कार्यक्रममा बिभिन्न दलबाट एमालेमा प्रवेश गर्ने दर्जनौ कार्यकतालाई अध्यक्ष ओलीले स्वागत गर्नु भएको थियो  ।