२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निधीले देउवाविरुद्ध डडेल्धुराबाटै सुरु गरे संघर्ष



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर अधिवेशन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । उपसभापति निधिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज एक पत्र लेख्दै सभापतिको गृह जिल्लासमेत भएकाले क्रियाशील सदस्यता विवाद समाधानपछि मात्र वडा अधिवेशन प्रारम्भ गर्न आग्रह गर्नुभएको हो । उहाँले पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोगबिना एकपक्षीयरूपमा अधिवेशनको मिति तोकिनु अनुचित भएको बताउनुभयो ।

“यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालालाई निर्देशन वा मार्गदर्शनका लागि विनम्र अनुरोध गर्दछु”, उपसभापति निधिले पत्रमार्फत भन्नुभएको छ ।

जिल्ला कार्यसमितिको असहमतिका बीच निर्वाचन अधिकृतले २५ भदौका लागि वडा अधिवेशनको मिति तोकेपछि उपसभापति निधिले सभापति देउवालाई सम्बोधन गर्दै उक्त पत्र लेख्नुभएको हो ।