• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

सिन्जो आवे: जापानी ‘जनताका राजकुमार’



जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आवे आम नागरिकका विचमा निकै लोकप्रिय नेता हुनुहुन्थ्यो ।

दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाउनु भएका आवेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिनु भएको थियो । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उहाँले आफ्नो जिम्मेवारीप्रति इमान्दार हुदै राजीनामा दिनु भएको थियो । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गर्नु भएका लिवरल डेमोक्रेटिक पार्टीका नेता आवेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै विदा लिनु परेको छ ।

आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट उहाँको निधन भएको हो ।

सन् १९५४ मा जन्मिनु भएका आवेको ६७ बर्षको उमेरमा निधन भएको हो । उहाँले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गर्नु भएको थियो । त्यसपछि उहाँले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गर्नुभएको थियो ।

राजनीतिमा भने उहाँ सन् १९८२ मा तत्कालिन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गर्नु भएको थियो । उहाँ सन् १९९३ देखि निरन्तर नौ पटक सांसद हुनुभएको थियो ।

उहाँले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गर्नु भएको थियो भने सरकारी भूमिकामा मन्त्रीपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गर्नु भएको थियो । मन्त्रीपरिषद्मा भने २००५ मा उहाँले पहिलो पटक सहभागी हुने मौका पाउनु भएको थियो ।

उहाँ पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । त्यतिबेला उहाँ जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्नु भएको थियो । अस्वस्थताका कारण त्यो कार्यकाल उहाँको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किनु भएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बन्नुभयो । उहाँले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्याग्नु भएको थियो । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाउनुभएको थियो ।

आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उहाँको छुट्टै पहिचान बनेको थियो । उहाँको राष्ट्रवादी धारका कारण उहाँ चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सक्नुभएको थिएन ।

राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका विचमा लोकप्रिय रहेकाले उहाँलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उहाँका बुवा शिनतारो आबे जापानको विदेश मन्त्री बन्नुभएको थियो भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री हुनुहुन्थ्यो ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)