• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै ★   आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै ★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन

फेवातालको चिरहरण र सरकारी उदासीनता



कुनै १० जना व्यक्तिलाई नेपालको सवैभन्दा सुन्दर र मनमोहक ठाँउ कुन हो भनेर प्रश्न गर्ने हो भने सायद ८ जनाले पोखरा भन्छन् होला । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराबाट मोहित नहुने सायदै होलान् ।

मनोरन्जनका लागि नेपाल आउने अधिकाँश विदेशी पर्यटकहरुको गन्तव्य थलो पनि पोखरा नै हो । फेवाताल लगायत पोखराभित्र र यसको आसपासमा दर्जनौ रमणीय स्थलहरु छन ।

फेवाताल भन्ने वित्तीकै हरेक नेपालीको मन लोभिन्छ । जाँऊ । जाँऊ । घुमौ घुमौ गरौ लाग्छ । फेवाताल पोखराको पहिचान मात्र हैन नेपालको गौरव हो । शान हो ।

एकसाता अगाडि म पोखरा पुगेको थिए पोखरा जाँदा कहिलेकाँही फेवातालको सिरानपट्टि रहेको पामेवजार सम्म पुग्छु र म जन्मेको पनि त्यही पामेवजार नजिककै साविक चापाकोट गाविस, हाल पोखरा महानगरपालिका २३ मा पर्छ ।

त्यो पामेवजारमा मैले २०३८ सालतिर २५ पैसा प्रति कप चिया पिएको सम्झना ताजै छ । पोखरा आउजाउ गर्न त्यहाँका नागरिकहरु पामेवजारको डुँङगाघाटबाट डुङ्गा चढ्थे । १ घण्टामा पोखरा पुग्दथे ।

झण्डै पामेवजारसम्म फेवातालको फैलावट थियो । हर्पन खोला विशाल थियो । डुँङगामा प्रति यात्रु रु १ लिने गरेका सम्झना अहिले पनि मलाई छ ।

२५ पैसाको चिया र रु १ को डुङ्गा चढाई पैसाको मूल्यको कथा लेख्नेहरुका लागि राम्रो खुराक हुन सक्छ ।

हामी २०३९ सालतिर तराई झ-यौ । बिचका धेरै घटनाक्रमहरु ताजा रहेन । सम्झना भएन । यो ४० वर्षको दौरानमा फेवातालको भूगोल लगायत यसको सुन्दरता लुटिएको मैले आभाष गरेको छु ।

विशाल ताल अहिले खुम्चिएको छ । मैले केटाकेटीमा देखेको फेवातालको आधा भाग अतिक्रमित छ ।भुमाफिया र दलालहरुको चंङगुलमा छ ।

फेवातालको पानीको स्रोत र मूहान हर्पन खोलामाथिको मानवीय दमन र हिंसा झन कहालीलाग्दो छ ।ढुङ्गा, गिटी, वालुवा लगायतका नाममा यसको निरन्तर दोहन भईरहेको छ । दोहन लगायतका कारण फेवाताल निरन्तर पुरिदैछ । पानीका स्रोतहरु मेटिदैछन ।

तालको मानवीय र प्राकृतिक अतिक्रमणलाई नरोक्ने हो भने अबको ११० बर्षमा यसको अस्तित्व नै समाप्त हुने ताल तथा वातावरण विज्ञहरुको निष्कर्ष छ ।

तर तालको गरिमा वचाउन भन्दा पनि यसलाई धुमिल पार्न स्वयं सरकारी संयन्त्रहरु नै सक्रीय रहेको आभाष मैले गरेको छु । यसपालि पामे वजारजाँदा मलाई साह्रै पीडा महशुश भयो, विशाल ताल खुम्चिएको त हामी सवैले देखेको अनुभूति गरेकै हो ।

हामीले केटाकेटीमा डुङ्गा चढने पामेवजारको डुँङगाघाटको, सिमसार क्षेत्रमा अहिले जग्गाको प्लटिङ्ग भईरहेको रहेछ। फेवातालमा आएर मिसिने सिमसार क्षेत्र युक्त त्यो पानीका मूहान थुनिएको छ ।

डोजर लगाईएको छ । धमाधम प्लटिङ्ग गरिएको छ । मैले मेरै मोवाईलबाट फोटो खिचेर ल्याएको छु । तालको पानीको स्रोत यस सिमसार क्षेत्रमा धमाधम प्लटिङ्ग हुँदा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानपा किन मुकर्दशक छन ?

यसको संरक्षणमा नेपाल सरकार लगायतका सरोकारवालाहरुले गंभिर रुपमा ध्यान दिनुपर्दछ कि पर्दैन ? रगत–पसिनाले कमाएको कसैको जग्गा ताल सिमानामा परेको प्रमाणित छ भन्ने राज्यले क्षतिपूर्ति दिएर ताललाई जोगाउन पर्दैन ?

तालको गरिमा र ईतिहास जोगाउदै यसलाई फैलन दिने हो कि ? खुम्च्याउनमा सहयोग गर्ने हो ? यो मेरो मात्र हैन आम नेपालीको प्रश्न हो? साविक ताल हिडेको कैयौ स्थानमा अहिले सिमेन्ट रडका कंक्रिटका घरहरु वनेका छन । तालको सुन्दरतालाई नै अपहरण गरेजस्तो लाग्छ ।

ताल परिसरमा नै कही कतै प्लटिङ्गका डोजर चलेका छन । ढुङ्गा, गिटी, वालुवाको ट्रिपरहरु दौडेका छन । जग्गाका माफियाहरुले देशभरी जथाभावी कृषिभूमिमा प्लटिङ्ग गरिरहेका छन् ।

सरकारी जग्गा कव्जागरी प्लटिङ्ग गरी वेचविखन समेत गरेका छन । भिरपाखा र कतै–कतै खोला नालाको आसपासमा पनि जथाभावी प्लटिङ्गहरु गरेको हामीले देखेका छौ ।

तर मुलुकको पहिचानसंग जोडिएको, पोखराको मुटु फेवातालको पानी नै छेकेर प्लटिङ्ग गरेको मैलेचाँही पहिलोपटक देखे । म जन्मेको ठाँउमात्र भएर हैन सिङ्गो मुलुकको पहिचानसंग पनि जोडिएको विषय भएको हुँदा मैले आँफुलाई अपमानित र हिनतावोध भएको महशुश गरेको छु ।

फेवातालको गरिमा वचाउन सरकारी संयन्त्रहरु संवेदनशील भएनन् । यसको अस्मीतामाथी नै यसको चारैतिरबाट लूटभईरहदा टुलुटुल हेरेर बसे सरकारलाई रुलिङ्ग गरियोस ।

ध्यानर्कषण गराईयोस । सरोकारवाला मन्त्रीलाई रोष्टममा उभ्याईयोस । फेवातालको संरक्षण लगायतमा सरकारको धारणा मागियोस ।

ताल संरक्षण लगायतमा प्रमुख जिम्मेवारी निर्वाह गर्नुपर्ने पोखरा महानगरपालिकाले नै यसको अस्मितामाथि झन खेलवाँड गरेको ताल संरक्षणमा चिन्तित हुने लगायतहरुको वुझाई छ ।

पोखरा महानगरपालिकाको २०७८ चैत १६ मा बसेको कार्यपालिकाको बैठकले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर जम्मा ३५ मिटर कायम गर्ने निर्णय गरेर सिमारेखाभन्दा वाहिर गएको छ । संविधान र कानूनले दिएको अधिकार दूरुपयोग गरेको छ ।

काठमाडौको सिंहदरवारले मात्र हैन गाँउका सिंहदरवारले पनि नीतिगत भ्रष्टचार गर्दारहेछन भन्ने वलियो प्रमाण हो यो । पोखरा महानगरपालिकाको नीतिगत भ्रष्टचारलाई सर्वोच्च अदालतको केही दिन अगाडिको फैसालाले झापड हानेको छ ।

फेवातालको मापदण्ड साविक ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ । म सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु ।
फेवाताल संरक्षणमा अदालतको फैसला ऐतिहासिक छ । प्रशंसनीय छ ।

अदालतको फैसलाको सम्मानका लागि पनि ६५ मिटरभित्रका अवैध भौतिक संरचनाहरु तुरुन्त भत्काउनका लागि म जोडदारसंग नेपाल सरकारसमक्ष अनुरोध गर्छु ।

यसै गरी जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेलको संयोजकत्वमा फेवाताल संरक्षण लगायतका लागि प्रतिवेदन पेश गर्न गठित समितिको २०७८ भदौ २८ को प्रतिवेदन सार्वजनिक गर्न समेत अनुरोध गर्दछु ।

फेवातालाको संरक्षणमा यतिले मात्र पुग्दैन यसको मुहान हर्पनखोला र यसका आसपासका साविक चापाकोट, भदौरे गाविस लगायतका क्षेत्रदेखिनै एकीकृत विकास र वातावरण संरक्षण लगायतका प्याकेजहरु बनाई स्थानीय नागरिकहरुको अग्रसरतामा कार्यान्वयन गर्न सरोकारवाला निकायहरुमा समेत अनुरोध गर्दछु ।

तस्वीर–डा.खिमलाल देवकोटा

देबकोटा राष्ट्रियसभाका सदस्य हुनुहुन्छ । राष्ट्रियसभाको बैठकमा उहाँले व्यक्त गर्नुभएको बिचार ।