• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षितः परराष्ट्र मन्त्रालय



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताउनु भएको हो । पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यामहरुलाई जानकारी दिने स्पष्ट पार्नु भयो । प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमणको कुरा चलिराखेको छ । अपेक्षित छ यो भ्रमण । अव यसको चाँही तपाईहरुलाई थाहा नै छ । निमन्त्रणा गर्ने प्रक्रिया हुन्छ । त्यसलाई स्विकार गर्ने पनि प्रक्रिया नै हुन्छ । सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा गर्ने एउटा प्रक्रिया छ । उपयुक्त समयमा यसका जानकारी यहाँहरुलाई दिनेनै छौं । माननीय परराष्ट्रमन्त्रीज्यूको चीन भ्रमण पनि उपयुक्त समयमा हुनेछ ।’

प्रवक्ता लम्सालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्ने नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भईनसकेको समेत स्पष्ट पार्नु भयो । सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रीपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भईरहेकाले पत्र भने गईनसकेको उहाँको स्पष्टिकरण थियो । प्रवक्ता लम्सालले अध्ययन भईसकेपछि मन्त्रीपरिषदको सो निर्णय कार्यान्वयन हुनेमा भने ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन ।

अब हामीलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । तर अव हामी के छ भने परराष्ट्र मन्त्रालयले काम गर्दाखेरी खरो अध्ययन गरेर, सबै कुराहरु स्टडि गरेर मात्रै त्यसको पत्राचार गर्नुपर्ने भएकाले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौं । र, यसलाई उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट नेपाल सरकारको मन्त्रीपरिषदको सो निर्णयलाई कार्यान्वयन गर्छौं । अहिले हामी त्यो तयारी गरिरहेका छौं । आउने वित्तिकै त्यो हेर्दै नहेरी निर्णय कार्यान्वयन गर्ने त आफ्नो ठाउँमा छँदैछ । अहिले त्यो गईसकेको अवस्था छैन, जान्छ । तपाईँहरु ढुक्क हुनुहोस् ।’

परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरुको संख्या उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रुपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराएको छ । त्यसैगरी राहदानी लिनका लागि सहज बनाउन राहदानी विभागले अनलाईन सेवालाई पनि चुस्त राख्ने काम गरिरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताउनु भयो ।

परराष्ट्र मन्त्रालयका अनुसार राहदानी विभागबाट असार १५ गतेसम्म ४ लाख १६ हजार २३५ थान विद्युतीय राहदानी प्रिन्ट गरिएको छ ।