२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुइगम पड्काएरै सके नेपालीले ४१ करोड



अ+ अ-

काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ ।

स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्याङ्क । न औषधि नै हुने, न त अत्यावश्यक वस्तु । न त मुलुकमा नै उत्पादन हुन्छ । एकातिर विदेशी मुद्रा सञ्चिति घट्दो छ भने अर्कातर्फ यस्ता अनावश्यक वस्तुको आयात बढ्दो छ ।

मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन । तर पनि यस्ता अनावश्यक र विलाशिताका वस्तुको आयातमा अर्बौं रकम बाहिरिरहेको तथ्याङ्क समयसमयमा सार्वजनिक हुने गरेको छ ।

खेतबारीमा सहजै उत्पादन गर्न सकिने वस्तुदेखि अनावश्यक ठानिएका वस्तुको आयात गरेर ठूलोमात्रामा विदेशी मुद्रा खर्च गरेर नेपालीले आफैँलाई थप परनिर्भर बनाइरहेका छन् । यस्तै तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ । एकाध मिनेटका लागि नेपाली समाजमा प्रचलित भनाइ जस्तै ‘मुखको तीतो मेट्न’का लागि चपाइनै त्यस्ता वस्तुको आयातका लागि मात्रै झण्डै रु ४१ करोड बराबरको लगानी गरिएको छ ।

विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट रु ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ । नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ । त्यस्तै यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा रु दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार बराबरको रकम बाहिरिएको छ ।

एघार महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ । यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजबल्स जस्ता खानेकुराको आयातसमेत करोडौँमा हुने गरेको छ । ती खाद्य पदार्थको सेवन नगर्दा पनि नेपाली पछाडि पर्दैनन् । तर जसरी भए पनि खानैपर्ने भन्ने सोचका कारण विदेशी मुद्राको सञ्चिति घटाउन प्रयोग भइरहेको छ ।

चालु आवको पहिलो ११ महिनामा १४ लाख २४ हजार ३६९ किलो बराबरको त्यस्ता खानेकुरा आयात भएको छ । त्यसका लागि मात्रै मुलुकबाट रु ६६ करोड ६५ लाख २५ हजार बराबरको रकम बाहिरिएको छ । यस अवधिमा बिस्कुटजस्ता खानेकुराको आयातमासमेत अर्बौं रकम विदेशिने गरेको देखिन्छ । चालु आवको जेठ मसान्तसम्म रु एक अर्ब ३७ लाखभन्दा बढीका बिस्कुट आयात भएको छ ।

त्यस्तै पापड रु १९ करोड ९४ लाख, मकैको खानेकुरा(कर्नफ्लेक्स) रु १८ करोड ४९ लाखमा आयात भएको विवरण छ । अनावश्यक ठानिएका यस्ता सामग्रीको आयातमा कडाइ गर्नुपर्ने माग पनि नउठेको होइन । तर सरकारी निकायले त्यसतर्फ ध्यान दिन सकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले देशभित्रै उत्पादन हुने बिस्कुटको प्रयोग सरकारी निकायमा अनिवार्यरुपमा गर्न यसअघि नै प्रक्रिया अगाडि बढाइसकिएको बताउनुभएको छ ।

विदेशी मुद्राको सञ्चिति ओरालो लागेको बेला अनावश्यक ठानिएका यस्ता वस्तुको तत्काल आयात प्रतिबन्ध लगाउनुपर्ने माग पनि उठेको छ । यी सामग्री अत्यावश्यक पनि नभएकाले सरकारले सामान्यरुपमा कडाइ गर्नेबित्तिकै नियन्त्रण भइहाल्ने सरोकारवालाको भनाइ छ ।




भर्खरै