सुर्खेत । राप्रपा नेपालका अध्यक्षले कमल थापाले मुलुकमा धर्म परिवर्तन व्यापकरुपमा भइरहेको भन्दै यसलाई समयमै निभाउनुपर्ने बताउनुभएको छ ।
सुर्खेतस्थित वीरेन्द्रनगरमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले विश्वमा सबैभन्दा धेरै धर्म परिवर्तन नेपालमा भएको बताउनुभयो । धर्म परिवर्तनको डढेलो हिन्दू राष्ट्रमा परेकोले हिन्दू राष्ट्रको दियो निभ्न दिन नहुने उहाँको भनाइ थियो ।
धर्म परिवर्तन गर्ने लहर अहिले बढिरहेको चर्चा गर्दै अध्यक्ष थापाले करोडौँ लगानी गरेर लाखौँलाई धर्म परिवर्तन गर्न बाध्य बनाइँदा पनि सरकारले यसतर्फ ध्यान नदिएकामा रोष प्रकट गर्नुभयो । धर्म परिवर्तनले देशलाई संकटतर्फ धकेल्दै गइरहेको भन्दै उहाँले सरकारसमक्ष यसलाई समयमै रोक्न आग्रह गर्नुभयो ।
अध्यक्ष थापाले अब राजतन्त्र पुनस्र्थापना हुन नसक्ने तर्क दिनुभयो । राजतन्त्र पुनस्र्थापना हुन नसक्ने भएर नै आफ्नो पार्टी जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा हिँडेको उहाँको भनाइ थियो ।
उहाँले वर्तमान संघीयताको स्वरुप ठिक नभएको भन्दै परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले संघीयताको वर्तमान अवस्था सही नभएको उल्लेख गर्दै स्थानीय तहलाई बलियो बनाउन संघीयतालाई खारेज गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश संरचनाको कुनै औचित्य नभएको उहाँको भनाइ थियो ।