२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले घर डुबानको जोखिममा



अ+ अ-

भजनी । मङ्गलबार राति परेको अविरल वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन् । भजनी नगरपालिका–३, ४, ५, ७ र ८ का केही स्थानमा डुबान भएको छ ।

त्यस्तै जोशीपुर गाउँपालिका–३ मा पनि दर्जनौँ घर डुबानमा परेका छन् । कान्द्रा नदीको बाढीले सतह पार गरेको छ भने काढा नदी फुट्दा स्थानीयवासीका घरमा डुबान भएको छ । स्थानीय जयप्रसाद ढुङ्गानाका अनुसार काढा नदीले बाँध फुटाउँदा स्थानीयवासी आउसे दमाइँ लगायतका घरहरू जोखिममा रहेका छन् । “नदी फुटेर गाउँ पसेको छ । नदीको ढिकमा भएका घरहरू जोखिममा रहेका छन् भने कृष्णपुर गाउँ नै डुबानको जोखिममा रहेको छ ”, ढुङ्गानाले भन्नुभयो, “नदीको बहाव बढ्दै जाने हो भने बस्तीलाई नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्छ । गाउँ पसेको पानीले कति असर गर्छ भन्ने हो ।”

वर्षाका कारण कान्द्रा, पथरैया, काढा, मोहना लगायतका नदीमा पानीको सतह बढेको स्थानीयवासी खेमराज पाण्डेले बताउनुभएको छ । “पानीको सतह बढ्दै गएको छ । हामीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिरहेका छौँ । कतिपय ठाउँमा पानीको सतह सडकभन्दा माथि पुगिसकेको छ ”, पाण्डेले भन्नुभयो, “पानीको सतह बढ्दै जाने हो भने सयौँ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको अवस्था आउन सक्छ ।”

कान्द्रा नदीमा पानीले सतह पार गरेपछि डुङ्गाको प्रयोग गरिएको छ । स्थानीयवासीलाई आवतजावतका लागि डुङ्गाको मद्दतबाट वारपार गराइँदै आएको स्थानीयवासी राजेन्द्र बोहराले बताउनुभएको छ । तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको बताउँदै बहुमूल्य वस्तुहरुको सुरक्षाका लागि स्थानीयवासीले तयारी थालेको उहाँले बताउनुभयो ।