काठमाडौं । नेपाली काँग्रेसका युवा नेताहरुले काँग्रेस सवै नेपालीको साझा फुलवारी भएकाले समानुपातिक प्रतिनिधित्व बढाउन माग गरेका छन् ।
समानुपातिक प्रतिनिधित्व बढाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा भइरहेको धर्ना तथा आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै युवा नेताहरुले उनीहरुको माग अबिलम्ब सम्बोधन गर्न आग्रह गरेका छन् ।
डा.चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताकालागि पाँच बुँदे ध्यानाकर्षण गराउनु भएको छ ।
देशभरका ५८ जिल्लामा अधिवेशनका प्रक्रियाहरु जारी रहेपनि काठमाण्डौ, मोरङ लगायतका १९ जिल्लाको कृयाशिल सदस्यको सुची अहिलेसम्म सार्वजनिक नभएकाले अधिवेशन सुरु हुन नसक्दा देशभर एकैपटक अधिवेशन शुरुहुने परम्परालाई खण्डित तुल्याएको उहाँहरुको भनाई छ ।
“पार्टी बिधान र देशको संविधानमा उपलब्ध समयसिमा नाघ्दा समेत कतिपय जिल्लामा अधिवेशन शुरु हुन नसक्नु साच्चै दुखद पक्ष हो,” वक्तव्यमा लेखिएको छ ।
सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा विधि र प्रक्रिया बिपरित केन्द्रबाट थोपरिएका कृयाशिल सदस्यहरु खारेज गरि बिधिसम्मत रुपमा जिल्लाबाट पठाईएका कृयाशिल सदस्यहरुको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सुचारु गर्नु पर्ने जिल्ला समितिको मागप्रति युवा नेताहरुले समर्थन जनाउनु भएको छ ।
गृह जिल्लामा सभापति देउवाको निर्देशनमा सुरक्षाकर्मीहरुको आडमा अधिवेश गरेकोप्रति आपत्ति प्रकट गर्दै उहाँहरुले कहीँ पनि जवरजस्ती नगर्न चेतावनी दिनुभएको छ ।
वक्तव्यमा लेखिएको छ, “देशभर अधिवेशनको प्रकृया शुरु भईसक्दा पनि केही जिल्लाको कृयाशिल सदस्यको सुची प्रकाशित नभई वडा अधिवेशनको कार्यतालिका नैं प्रभावित हुन पुग्दा सम्बन्धित जिल्लाका साथीहरूले गम्भीर मानसिक तनाव र पिडा झेल्नुपरिरहेको परिस्थितिलाई तुरुन्तै अन्त्य गरी अधिवेशनको प्रक्रिया सुचारु गर्न बाँकी रहेका जिल्लाको कृयाशिल सदस्यहरुको नामावली अबिलम्व प्रकाशित गरि वडा अधिवेशन सम्पन्न गरियोस् ।”
काँग्रेस भित्र देखिएका घटनाक्रमहरु पार्टी नेतृत्वका घरेलु मामला मात्र नभइ नेपाली कांग्रेसका झण्डै नौलाख सदस्यहरुका साझा मामला, चिन्ता र सरोकार भएकाले केन्द्रीय समितिको बैठक मार्फत विवादहरुको निरुपण गर्न पनि सभापति देउवासँग युवा नेताहरुको आग्रह छ ।











