• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद ! ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह ★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ? ★   लमजुङ पहिरो अपडेट: बेपत्ता चारजनाको शव फेला ★   कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते ★   परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता

बागलुङका पालिकाको प्राथमिकता: स्थानीय उत्पादनका ब्राण्डसहितको बजारीकरण



गलकोट । बागलुङको गलकोट नगरपालिकाले ढकायोको साँग, बाँको र मुलाको सिन्किको बजारीकरण गर्ने भएको छ । गलकोटको घुम्टेलेक, रमुवा, पाण्डवखानी लगाएको उच्च भागमा पाइने ढकायो साँग, बाँको र मुलाको सिन्किलाई ब्राण्ड बनाएर बजारीकरण गर्ने नीति ल्याएको छ । नगरपालिकाले ढकायो, बाँको र सिन्किलाई नगरकै पहिचानका रुपमा विकास गरी बजारीकरण गर्ने जनाएको छ । नगरप्रमुख भरत शर्मा गैरेले गलकोटले कोसेलीको रुपमा आगन्तुक पाहुना र पर्यटकलाई सिन्की दिने, विदेशमा भएका आफन्तलाई कोसेली पठाउने गरी बजारीकरणको योजनासहित बजेट तथा कार्यक्रममा समेटेको बताउनुभयो ।

“यहाँका केही घरबासले ढकायो, मुला र बाँकोको सिन्कीलाई मुख्य आकर्षक परिकारका रुपमा बनाउँदै आएका छन्, गलकोटमा दरमकोखालाको माछा जतिकै प्रख्यात छ त्यतिकै यहाँको उच्च भागमा पाइने बाँको र ढकायोलाई सिन्किको रुपमा बजारीकरण गर्ने हाम्रो नीति हो”, उहाँले भन्नुभयो “स्थानीय महिलाले उत्पादन गरेको सिक्नीलाई हामीले खरिद गरेर मायाको चिनो तथा उपहार तथा कोसेलीका रुपमा बजारीकरण गर्छौं, जसका लागि यो वर्ष बजेटको समेत व्यवस्थापन गरेका छौँ ।” नगरपालिकाले उद्यम विकासमा रु २६ लाख र लघु उद्यम विकास कार्यक्रममा रु ३० लाख बजेटसमेत व्यवस्थापन गरेको छ । नगरपालिकाले नयाँ कृषि, पशुपन्छी फर्म र घरेलु उद्योग स्थापनका लागि रु २० लाखभन्दा बढी लगानी गर्ने ५० युवाका लागि पाँच वर्षसम्मका लागि ब्याजमा ५० प्रतिशत अनुदान दिने नीति ल्याएको छ ।

गलकोटले मात्रै हैन बागलुङका १० पालिका मध्ये अधिकांश स्थानीयतहले कृषिउपज तथा स्थानीय हस्तकला र घरेलु उत्पादनलाई बजारीकरण गर्ने जिम्मा पालिकाले लिन नीति ल्याएका छन् । दश पालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखेको पाइएको छ । उत्पादन भएका घरेलु वस्तुले बजार नपाएको गुनासोपछि पालिकाले यस्तो नीति ल्याउन थालेका हुन् ।

बागलुङको जेठो पालिका बागलुङ नगरपालिकाले घरेलु उत्पादनको बजारीकरणका लागि कृषि गाडी सञ्चालन गर्ने, घरेलु मदिरा ब्राण्डिङ गर्ने नीति ल्याएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । “घरेलु मदिरा फाल्ने, विदेशी मदिरा खाने प्रचलन मौलाउदो छ, नगरपालिकाले घरेलु मदिरा ब्राण्डिङ गर्ने र बिक्री वितरण गर्न दिने नीति ल्याएको छ, यस्तै अर्गानिक कृषिउपजलाई बजार ल्याउनका लागि नगरपालिकाले कृषि गाडी सञ्चालनमा ल्याउने नीति ल्यएको छ”, उहाँले भन्नुभयो, “ब्राण्ड र लेवलिङ गर्नसके घरेलु मदिरासमेत बिक्री वितरण गर्न पाइन्छ, नगरपालिकाले कृषि गाडी सञ्चालनमा ल्याएपछि गाउँको उत्पादन सर्वसुलभरुपमा बजारमा ल्याइने व्यवस्था मिलाइने छ ।” नगरले कृषि गाडी सञ्चालनसँगै दूध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगरीरुपमा विकास गर्ने कार्यक्रम अगाडि सारेको छ ।

नगरपालिकाले स्थानीयरुपमा उत्पादन गरिने मदिरालाई सबै स्वास्थ्यका मापदण्ड पूरा गरी बजारीकरण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएका जनाएको छ ।

यस्तै जिल्लाको ताराखोलालले भाङ्गो र आलुलाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाका प्रमुख उत्पादनका रुपमा रहेको भाङ्गो र आलुलाई बजारीकरण गर्न पालिकाले सघाउने गरी नीति तथा कार्यक्रम पास गरेको गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताउनुभयो । पालिकामा व्यावसायिक पशुपालनलाई वृद्धि गरी दुग्ध सङ्कलन केन्द्र स्थापना गर्ने, दुग्धजन्य पदार्थको उत्पादन प्रशोधन भण्डारण तथा बजारीकरण गर्ने, पशुमा कृतिम गर्भदान मिसन कार्यक्रम सञ्चालन गर्ने, नर्सरी निर्माणगरी आवश्यक बीउ तथा बिरुवा उत्पादन गरिने, बाँजो जग्गालाई खेतीयोग्य जग्गामा परिणत गर्ने, कृषि बीमा कार्यक्रम सञ्चालन गर्ने र फलफूल दशक बिरुवा रोपण कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

पालिकाले उत्पादनका आधारमा अनुदान दिने र उनीहरुले उत्पादन गरेको नेपाली कागज, अल्लो धागो, राडी, भाङ्गो र निगालोबाट निर्मित वस्तु उत्पादनका लागि सिर्जना स्तरोन्नति सीप विकास तालिम र प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको । निजी तथा सार्वजिनक स्थल तथा सामुदायिक क्षेत्रमा रहेका स्लेट ढुङ्गा उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी अध्ययन गर्न सहजीकरण गर्ने नीति लिएको छ ।

यस्तै जिल्लाको काठेखोला गाउँपालिकाले विद्यार्थीलाई दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, नयाँ घरवासलाई प्रवद्र्धन गर्दै पाहुँनाको सत्कार काठेखोलाको संस्कार भन्ने नीति लिएको गाउँपालिका अध्यक्ष राजु थापाले बताउनुभयो । यस्तै तमानखोला गाउँपालिकाले स्थानीय उत्पादनको स्वाद चखाउने गरी घरबास पर्यटनको विकासका लागि मौलिक गाउँ घोषणा गर्ने भएको छ ।

यस्तै जैमिनी नगरपालिकाले बाँझो जग्गा एकीकृत गरी मसला बाली विकास तथा घाँस विकास कार्यक्रम सञ्चलना गर्ने नीति लिएको नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो । उहाँले नगरपालिकाले बाँझो जग्गाको उपयोगितामार्फत रोजगारी सिर्जना हुने कार्यक्रमलाई प्राथमिकता राख्दै बाँझो जग्गाको उपयोगिता, रोजगारीको सुनिश्चितता भन्ने नाराका साथ बाँझो रहेको जग्गालाई उचित व्यवस्थापन गर्दै रोजगारी सिर्जना हुनेखालका कार्यक्रम ल्याउने नीति नगरपालिकाले सार्वजनिक गरेको हो । यस्तै आर्थिक विकासको पहिलो सूचक कृषि बनाएको नगरपालिकाले ‘कृषकसँग नगरपालिका कार्यक्रम’ सञ्चालन गरेर पशुपन्छीपालक कृषकलाई अनुदान दिने नीति लिएको छ ।