२ भाद्र २०८३, मंगलवार
,
Latest
कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हज यात्रा:चर्को मूल्य तिरेर पनि सुविधा पाइन : हाजी,विरोधका लागि विरोध: हज कमिटिका अध्यक्ष मिया



अ+ अ-

काठमाडौं । मुस्लिम समुदायको सबैभन्दा पवित्र स्थल मक्कामा हज गर्न गएका हाजीहरुले सम्झौताअनुसारको काम नभएको गुनासो गरेका छन् । हजका लागि यो वर्ष विभिन्न जिल्लाबाट ५५१ जना हाजीहरु साउदी अरबस्थित मक्का पुगेका छन् ।

हजका लागि मक्का पुग्नुभएका पाल्पा तानसेनका एक हाजीले खाना पनि ठिक नभएको, एउटा कोठामा १० जना राखेको र निकै असुविधा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हज कमिटीले कुनै वास्ता नै गरेका छैन, न चिकित्सकको सुविधा नै छ । हाजीहरुलाई सुविधा दिनका लागि हज समिति बनेको छ तर यस्तो व्यवस्थापनलाई कसरी राम्रो छ भन्ने ?”

हाजीहरुका अनुसार अघिल्लो समय हजका लागि जाँदा घर बहाल, खाना, हवाई टिकट र यातायात खर्चबापत २ लाख २९ हजार रुपैयाँ तोकिएको थियो तर यस पटक ४ लाख ६३ हजार रुपैयाँ बुझाउँदा पनि राम्रो व्यवस्थापन भएन । हज कमिटीले तारे होटल सरहको सुविधा दिने भने पनि बिहान बेलुकी सादा दालभात र दिनभरमा दुई कप चिया मात्र दिएको गुनासो गरे ।

उच्च गुणस्तरका लागि मूल्य तिरेको तर न्यून गुणस्तरको पनि सेवा नपाइएको उनीहरुको गुनासो छ । उनीहरुलाई पूजा गर्ने स्थल बाट ४ किलोमिटर टाढा राखिएको छ । यति टाढा अहिलेसम्म राखिएको थिएन ।

हजयात्रीहरु समस्यामा परे पनि हज कमिटीले कुनै वास्ता नै नगरेको उनीहरुको गुनासो छ । उनीहरुले भने, “धर्मको नाममा बदमासी भयो, हज कमिटी गृहमन्त्रालय अन्तरगतको हो, यसमा मन्त्रालयले तुरुन्त एक्सन लिनुपर्यो ।”

उता हज कमिटीका अध्यक्ष शमशेर मियाँले हज यात्रीको गुनासोलाई पूरै अस्वीकार गर्नुभयो । उहाँले न्यूजपोलारसँग भन्नुभयो, “यो सब विरोधका लागि विरोध मात्र हो, सन् २०१८ र १९ मा त्यही ठाउँमा बस्दा ठिक हुने अहिले कसरी बेठिक हुन्छ ?”

उहाँका अनुसार हाजीहरुलाई हरम सरिफबाट १६ सय मिटर नजिक रहेको आवास केन्द्रमा राखिएको छ । “सबै सम्झौताअनुसार काम गरेका छौ । हज कमिटीलाई बदनाम गराउन अतिरञ्जना गर्ने काम भएको छ । केही हाजीबाट बदमासी पनि भयो ।”

उहाँका अनुसार महोलिन दस्तुर विगतमा ७५६ रियाल थियो यस पटक बढेर ५ हजार ६५७ रियाल पुगेको छ । साउदी सरकारले विभिन्न शीर्षकमा कर पनि बढाएको छ । खाना र आवासको मात्र २० प्रतिशत रकम बढेको छ ।

“रकम लिएअनुसारको सुविधा दिएका छौँ”, अध्यक्ष मियाँले भन्नुभयो, “६२० जना बस्ने होटलमा ५३७ मात्र राखेका छौँ त्यो पनि मापदण्ड अनुसार नै ।”

हाजीहरुले राम्रो खान नपाएको भिडियोमार्फत जानकारी गराए पनि अध्यक्ष मियाले केहीको नियतमा नै समस्या रहेको बताउनुभयो । “राम्रो नेपाली खाना, साथमा फरक फरक दिन खसी, कुखुरा, उँटको मासु, अण्डा, फलफुल र जुसको व्यवस्था गरेका छौँ ।”

कुल ३४ दिनको यात्रका लागि आफूहरुले सकेको व्यवस्था गरेको उहाँले दाबी गर्नुभयो । हाजीको व्यवस्थापनको जिम्मा मअत्फी कम्पनीले गरेको र उनीहरुसँग आफू निरन्तर सम्पर्कमा रहेको उहाँले दाबी गर्नुभयो ।

“दुःख गरेका धर्म गर्न जाने घरको जस्तो सेवा सुविधा त कसरी हुन्छ रु” उहाँले भन्नुभयो, “विरोधका लागि विरोधका कुनै अर्थ छैन ।”