• २९ श्रावण २०७९, आईतवार
  •      Sun Aug 14 2022
Logo

मुस्ताङको मुहार -फोटो फिचर



मुस्ताङ । मुस्ताङ हिमशृङ्खलाभन्दा उत्तरपट्टि अवस्थित हिमालपारिको जिल्ला हो । धौलागिरि र नीलगिरि दुई अग्ला हिमशिखरहरुको बीचमा अवस्थित यो जिल्ला कागवेनी, मुक्तिनाथ मन्दिर, दामोदरकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीहरुको पावन भूमि, पवित्र कृष्णगण्डकी प्रवाहित हुने प्रकृतिको अनुपम दृश्य भएको, पर्यटनका लागि मनमोहक एवं सुन्दर रहेको छ ।

उपल्लो मुस्ताङलाई लोमान्थाङ पनि भनिन्छ । लोमान्थाङमा विशाल मैदानको बीच भागमा बाक्लो पर्खालले घेरिएको बस्ती छ । बस्तीभित्र विशाल ढोकामार्फत छिर्न सकिन्छ ।

लोमान्थाङ आदिमकालको गढी र किल्ला जस्तै हो । यहाँ घरहरु पनि गुजुमुज्ज परेका छन् । तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो लोमान्थाङ ऐतिहासिक गुफा, तिब्बती संस्कृति, पठारको रमणीय दृश्य र हिमाली आकर्षणको केन्द्रविन्दु पनि हो । यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमालहरु नजिकै देखिन्छन् ।

कुनै बेला लोमान्थाङ तिब्बत–नेपाल–भारतको नुन व्यापारको मार्ग पनि थियो । उपल्लो मुस्ताङ हिमाल र पठारको प्राकृतिक सुन्दरताले उत्कृष्ट छ । साथै सांस्कृतिक सम्पदाले भरिपूर्ण उपल्लो मुस्ताङको स्थानीय मौलिकता र ऐतिहासिक गुफाहरुले पर्यटकीय आकर्षण बढाएको छ ।

यहाँ पुगेपछि हिमालसँग साक्षात्कार गर्न पाइन्छ भने वास्तविक हिमाली जीवनको अनुभव पनि लिन सकिन्छ ।

विशेषगरी थकाली, लोवा र गुरुङ समुदायको बसोबास रहेको यस जिल्लाका बहुसङ्ख्यक मानिसहरु बौद्ध धर्म मान्दछन् । परापूर्व कालमा नेपाल र तिब्बत बीचको व्यापारिक मुख्य नाका रहेको यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खनन्बाट समेत ३००० वर्षभन्दा पुरानो रहेको पुष्टि हुन आएको छ । प्रकृति र संस्कृतिको धनी मुस्ताङ जिल्ला पर्यटकीय तथा धार्मिक दुष्टिकोणले जति प्रसिद्ध छ त्यतिकै जैविक विविधता र जडीबुटीका लागि प्रसिद्ध छ ।

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूका लागि एक महत्त्वपूर्ण तीर्थस्थल हो । यो तीर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाइमा नेपालको हिमालपारिको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) भन्दछन् ।

तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्‍णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्ये एक हो । यो तीर्थस्थल शालिग्राम भगवानका लागि प्रसिद्ध रहेको छ । शालिग्राम वास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ ।

यो मुख्यरूपमा कालिगण्डकी नदीमा पाइन्छ । जुन क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दू धार्मिक मान्‍यताका आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौँ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तीर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दू धर्मको दुर्गम तीर्थस्थलमध्ये एक हो ।

मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य हो । म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाईमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढी छ । यस्तै अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा निस्कने पर्यटक मनाङ हुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ आइपुग्छन् । मुस्ताङ छिर्ने अधिकांश पर्यटकले मुक्तिनाथ क्षेत्र घुम्छन् । तीमध्ये केहीले उपल्लो मुस्ताङको यात्रा तय गर्छन् ।

मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको कति हुन्छन् भन्ने यकिन तथ्याङ्क छैन । विदेशीको तुलनामा दोब्बर बढी नेपालीले मुस्ताङको भ्रमण गर्ने गरेको पाइन्छ । पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै मुस्ताङ जाने आन्तरिक पर्यटकको पनि घुइँचो लाग्ने गरेको छ। मुक्तिनाथको तीर्थमा जानेदेखि पदयात्रामा रमाउने युवायुवतीको रोजाइमा मुस्ताङ पर्न थालेको हो ।

फोटो- पदम तिमिल्सिना / अल थ्री मिडिया