• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

‘गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस्’



फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गर्नुभएको छ ।

उहाँले नै विसं २०७६ फागुन १० गते नै उक्त विधेयक सदनमा दर्ता गर्नुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वनय हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै उहाँले छलफलमा नल्याएर जनप्रतिनिधिको अधिकार हनन गरिएको बताउनुभयो । उहाँले गाँजा औषधिजन्य वनस्पति भएको प्रमाणित भइसकेको र एचआइभी, क्यान्सरलगायत धेरै रोगको पीडा कम गर्ने औषधि हुनसक्ने भएकाले गाँजा खेतीलाई वैधानिक बनाउनेतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले सांसदले उठाएका र समितिले दिएका निर्देशन आठ प्रतिशतभन्दा बढी कार्यान्वयन नदेखिएको भन्दै सांसदले उठाएका विषय संसद्ले कति कार्यान्वनय ग¥यो भनी प्रश्न गर्नुभयो । सांसद तामाङले मुलुकका रोजगारीको सिर्जना हुन नसकिरहेको अवस्थामा नेपाली युवा आकाशबाट जाने र बाकसमा आउने दर्दनाक अवस्था रहेको दुःखेसो पोख्नुभयो । यस अवस्थामा उक्त विधेयक पारित भए युवाले रोजगारी पाउने विश्वास व्यक्त गर्नुभयो ।

विशेष समयमा सांसद डा डिला सङ्ग्रौला पन्तले विराटनगर विमानस्थलको काम तुरुन्त सुरु हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सडक सङ्घर्ष गरिरहेका नागरिकको माग सम्बोधन गर्न र विपद् व्यवस्थापनमा लाग्न आग्रह गर्नुभयो ।

सांसद शक्तिबहादुर बस्नेतले मौलिक हक कार्यान्वयनका लागि केही कानुन नबनेको र बनेका पनि राम्ररी कार्यान्वनय हुन नसकेको गुनासो पोख्नुभयो । सांसद गजेन्द्रबहादुर महतले ओरालो लागेको शेयर बजारको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो ।

सांसद सूर्यप्रसाद पाठकले सशस्त्र प्रहरीमा बढुवा, सरुवामा भएको नातावादका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सर्वोच्चको फैसलाका विपरीत प्रहरी नियमावलीहरू संशोधनको प्रयास भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद गङ्गा चौधरीले जताततै भ्रष्टाचार, बिचौलियाको कमिशन देख्दा समाज कतातिर जाँदै छ भनेर प्रश्न उठाउनुभयो । विशेष समयमा सरलाकुमारी यादव, प्रमोदकुमार यादव, नवराज सिलवाललगायतले धारणा राख्नुभएको थियो ।

बैठकमा सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका जीवन सङ्गिनी शोभा प्रधानको निधनप्रति शोक वक्तव्य प्रस्तुत गर्नुभएको थियो ।