२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार



अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा बनाउन लागेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमको विस्तृत जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९/८० मा रु १५ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । प्रवक्ता विष्टले एकीकृत प्रशासनिक सेवा प्रवाहका लागि प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने संरचना निर्माण गर्न थालेको बताउनुभयो ।

“हामीले गत आर्थिक वर्षमै प्रदेश सरकारका मन्त्रालयहरू एकै ठाउँमा बनाउन खोजेका थियौँ”, उहाँले भन्नुभयो, “त्यसका निम्ति सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारेको थियो । तर सङ्गठन संरचना फेरबदल हुँदा अब पुनः डिपिआर गरी निर्माणकार्यलाई अघि बढाउँछौँ ।”

‘कर्णाली सिंहदरबार’को ढाँचामा संरचना निर्माण गर्दा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय पनि त्यसभित्र पर्न सक्ने जनाउँदै मन्त्री विष्टले त्यसको चारैतर्फ पर्खाल, त्यसभित्र मन्त्रालयसहित खुलामञ्च, सभाहल निर्माण गरिने बताउनुभयो । यसका लागि आगामी आवको पहिलो महिनामै काम थालनी गरिने उहाँको भनाइ थियो ।

आर्थिक सचिव झक्कप्रसाद आचार्यले ‘कर्णाली सिंहदरबार’ भित्र सभाहल बनाउन रु दुई करोड, पर्खाल निर्माणमा रु पाँच करोड र मन्त्रालय निर्माणका लागि रु आठ करोड छुट्याइएको जानकारी दिनुभयो । “आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा ‘कर्णाली सिंहदरबार’ को संरचना निर्माण हुनेछ”, सचिव आचार्यले भन्नुभयो, “उक्त संरचना बनाउनका लागि साढे दुई बिघा क्षेत्रफलको जमिन छ र त्यसलाई बढाउन पनि सकिन्छ ।”

‘कर्णाली सिंहदरबार’ निर्माण गर्न सकिए नागरिकलाई एकै ठाउँबाट सेवा प्रवाह हुनुका साथै सुरक्षा सहजता मिल्ने जनाइएको छ ।