२७ पुष २०८१, शनिबार
,
Latest
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न फेरि राष्ट्र बैंकको निर्देशन जुम्लामा ८,८२९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने ढोरपाटन नगरप्रमुख देव कुमार नेपाली र इमेज सहकारीपीडित ५४७ बीच मेलमिलाप म्याग्दीको राहुघाट जलविद्युतको ‘स्विचयार्ड’ निर्माण सुरू प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण-फोटो फिचर पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सिमित
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने



अ+ अ-

चितवन । विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका हुन् ।

रेटिना विज्ञ डा. संयम बजिमयले सात/आठ महिनामा एक दशमलव पाँच किलोग्रामभन्दा कम तौल भएका शिशुको अनिवार्य आँखा परीक्षण गराउनुपर्ने बताउनुभयो । त्यस्ता शिशुको समयमा आँखाको परीक्षण नभएमा अन्धो पनि हुन सक्ने उहाँको भनाइ थियो । डा. बजिमयले भन्नुभयो “समयमा उपचार पायो भने कोही पनि अन्धो हुँदैन ।”

समय पुगेर जन्मिएका शिशुको पनि छ महिनभित्र आँखा परीक्षण गराउनुपर्ने उहाँले बताउनुभयो । नवजात शिशुमा बंशाणुगत रोग हुनसक्ने भन्दै डा बजिमयले समयमै उपचार पाएमा समस्या नहुने उल्लेख गर्नुुभयो ।पहिले पहिले कम तौलका शिशुहरुको उपचार कठिन थियो तर अहिले प्रविधिको विकास र जनशक्तिको व्यवस्थाले कम तौलका शिशुलाई बचाउन सकिएको छ । भरतपुर अस्पतालको बाल सघन उपचार कक्ष (एनआईसियु)का प्रमुख तथा बरिष्ठ बाल रोग विशेषज्ञ डा. ओमकृष्ण पाठकले अहिले कम तौलका शिशुलाई पनि उपचार गरेर बचाउन सकिएको बताउनुभयो ।

त्यस्ता शिशुको शरीरका अङ्ग कमजोर हुने जानकारी दिँदै उहाँले भन्नुभयो “रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी प्रमुख समस्या हुने गरेको छ ।”बालसघन उपचार कक्षमा राखेर अक्सिजन दिइएका, सङ्क्रमण भएका, जन्मदा कृत्रिम श्वासप्रश्वास दिनुपरेका, लामो समय सिप्याप र भेन्टिलेटरमा राखेर उपचार गरिएका शिशुलाई आँखामा समस्या आउने डा. पाठकको भनाइ थियो । सकेसम्म यसरी उपचार गर्नुपर्दा कम अक्सिजन दिने प्रयास गरिने भन्दै उहाँले आँखा स्क्रिनिङ गर्न सुझाव दिनुभयो । शिशुको आँखाको समयमा उपचार हुन नसकेमा अन्धोपन हुन सक्ने र त्यस्ता शिशुलाई तीन चार हप्तामा आँखाको परीक्षण गराउन डा पाठकले सुझाव दिनुभयो ।

चितवन मेडिकल कलेजमा क्रिटिकल केयर हेर्दै आउनुभएका बाल रोग विशेषज्ञ डा विराज पराजुली ३७ हप्ता अघि जन्मिएका शिशुको शरीरले पूर्णता नपाउने बताउनुभयो । त्यस्ता शिशुको आँखाको रेटिना विकास नहुँदै अक्सिजन दिनुपर्ने अवस्था आयो भने र सङ्क्रमण भयो भने आँखामा समस्या आउने उहाँले सुझाउनुभयो । उपचार गर्दा यी कुरामा ध्यान दिनुपर्ने भए पनि आँखाको परीक्षण भने गर्नै पर्ने डा. पराजुलीको तर्क थियो ।

सैतिस हप्ताभन्दा कम समयमा जन्मिएका र ३० दिनभित्रै अक्सिन दिनुपर्ने र सङ्क्रमण भएका शिशुको आँखामा जोखिम बढी हुनसक्छ । भरतपुर आँखा अस्पतालका बाल नेत्ररोग विशेषज्ञ डा मनिषा श्रेष्ठ कम उमेरमा जन्मिएका शिशुको कम तौल हुने र उनीहरुमा विशेष प्रकारको समस्या आउने बताउनुभयो । आँखाको पर्दामा असर देखिने भन्दै उहाँले रेटिनोप्याथी अफ प्रिम्याच्युरिटीको सम्भावना धेरै हुने बताउनुभयो ।डा श्रेष्ठले भन्नुभयो “समयमा उपचार पाएमा उनीहरु अन्धो हुनबाट जोगिन्छन् ।” बाल सघन उपचार कक्षमा रहेर अक्सिजन प्रयोग गरिएका बिरामी शिशुको अनिवार्य आँखा परीक्षण गराउन उहाँले सुझाव दिनुभयो ।

भरतपुर आँखा अस्पतालमा यसप्रकारको समस्या लिएर प्रत्येक महिना पाँच जनाको हाराहारीमा बिरामी आउने गरेको डा. श्रेष्ठको भनाइ थियो । दैनिक बहिरङ्ग सेवामा एक सय हाराहारी शिशु उपचारका लागि आउने गर्दछन् । तीमध्ये पाँच जनालाई समस्या नै हुने गरेको छ ।

भरतपुर आँखा अस्पताल र यसका सेवा केन्द्रमा आँखाको उपचार हुने भएकाले यस्ता शिशुलाई समयमै उपचार गर्न उहाँले सुझाव दिनुभयो । सुरुको समयमा सामान्य परीक्षण गरेमा निको हुने भए पनि समय–समयमा उपचार नगर्दा जटिल समस्या आउने भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले अभिभावकलाई आँखाको परीक्षण गराउनुपर्छ भन्ने विषयमा सचेतना जगाउने गरी काम गर्नुपर्ने र अन्य बालबालिकाको पनि समय समयमा आँखाको परीक्षण गराउनु पर्नेमा सुझाव दिइएको थियो । रासस