५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनियोजन विधेयक प्रस्ताव स्वीकृत



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले विनियोजन विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद शेरबहादुर तामाङले विनियोजन विधेयकमाथि पुनःविचार गरिनुपर्ने आवश्यकता औँल्याउदै बजेटको सैद्धान्तिक पाटो र कार्यान्वयनको विषयमा स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले विनियोजनमा अझै नयाँ ढङ्गले सोच्न आग्रह गर्नुभयो । सांसद देवप्रसाद गुरुङले विधेयक समग्रतामा राम्रो ढङ्गले आएकाले सफल कार्यान्वयनको अपेक्षा गर्नुभयो ।

सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय आफैँले बजेट नकाट्ने तर मन्त्रालय आफैँले खर्च गर्न नसकेपछि रकमान्तरण गर्नुपरेको स्पष्ट पार्नुभयो । उहाँले विकास र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनको सम्बन्धमा राष्ट्रिय सहमतिका साथ जानुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७९ को विभिन्न मन्त्रालय एवम् सचिवालय अन्तर्गतका विभिन्न शीर्षकमाथि हुने छलफल गर्न र सम्बन्धित मन्त्रीले उठेका प्रश्नको जवाफ दिन यही जेठ २३, २४, २५, २६ र २७ गतेको दिन तोक्नुभएको छ ।

त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । विधेयकको सैद्धान्तिक छलफलका लागि सहभागी सांसद विन्दा पाण्डे, डिला संग्रौला पन्त, विमला विकलगायतले बोल्नुभएको थियो ।

यसअघि दोस्रो वैठकको सुरुमा बोल्दै सांसद आशाकुमारी विकले बझाङ शुर्मा गाउँपालिका–१ निवासी सिन्की बोहोरा यार्सागुम्बा टिप्नको लागि लेक गएका बेला धनशेरी हिमालको फेदीमा हिमपहिरोमा पुरिएर वेपत्ता भएकाले बोहोराको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक जेठ २३ गते बिहान ११ बजे बस्नेछ ।