• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

हावाहुरीले गलकोटस्थित ऐतिहासिक कोतघरमा क्षति



बागलुङ । हावाहुरीले गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरमा क्षति पुर्याएको छ । केही दिनअघि आएको हावाहुरीका कारण रुख ढल्दा कोतघरको गारो र छानो भत्किएको हो ।

कोतघर पूजा व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर खत्रीका अनुसार सल्लाको हाँगाले कोतघरको दक्षिणपट्टिको भागमा क्षति पुगेको हो । “सिङ्गै रुख कोतघरमाथि परेका भए झन ठूलो क्षति निम्तने थियो”, उहाँले भन्नुभयो । चौबिसे राज्यका पालाको उक्त कोतघर रुग्ण अवस्थामा छ । विसं २०४० तिर पुनःनिर्माण गरिए पनि फेरि जीर्णोद्वार गर्नुपर्ने स्थिति छ ।

“यसै त कोतघर धेरै पुरानो भइसक्यो, भूकम्पले पनि चर्काएको थियो”, अध्यक्ष खत्रीले भन्नुभयो, “संरचना कमजोर भइसकेकाले सामान्य मर्मतसम्भारले मात्र हुँदैन, पुनःनिर्माण नै गर्नुपर्छ ।” उहाँले बर्सातका बेला कोतघरमा थप क्षति हुन नदिन बाहिरी सुरक्षा र सामान्य मर्मतको काम थालिएको बताउनुभयो । अध्यक्ष खत्रीले कोतघरका लागि दीर्घकालीन संरक्षण योजना चाहिएको उल्लेख गर्नुभयो ।

वडा नं ३ का अध्यक्ष फमबहादुर खत्रीले कोतघरको पुनःनिर्माणका लागि नगरमार्फत गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालय र सङ्घ सरकारसँग सहयोग माग गरिएको बताउनुभयो । ऐतिहासिक र पुरातात्विक महत्वको भएकाले कोतघरको पुनःनिर्माण त्यसैअनुसार गर्नुपर्ने उहाँको भनाइ छ ।

यसअघि पनि नगरकै लगानीमा कोतघर संरक्षण योजनाले गति लिएको भन्दै वडाध्यक्ष खत्रीले अहिले पनि त्यसलाई प्राथमिकतामा राखिने बताउनुभयो । आव २०७६/७७ मा कोतघरलाई नगर गौरवको योजनामा समेटेर संरक्षण र विकासको काम थालिएको थियो ।

कोतघरलाई आकर्षक सम्पदास्थलका रुपमा चिनाउने लक्ष्यसहित नगरपालिका संरक्षणमा जुटेको हो । नगरपालिकाको पहलमा कोतघरको मर्मतसम्भार, हातहतियार प्रतिस्थापन, घेराबार, पदमार्ग, खानेपानी, शौचालयलगायत संरचना बनेका छन् ।

कोतघरको बृहत् जीर्णोद्धारका लागि नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारेको छ । नगरप्रमुख भरत शर्मा गैरेले कोतघरलाई ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने गरी पूर्वाधार बनाइने बताउनुभयो । उहाँले हटिया बजार (मध्यपहाडी पुष्पलाल लोकमार्ग) देखि कोतघर जोड्ने पहुँच मार्ग कालोपत्रका लागि पनि डिपिआर बनेको उल्लेख गर्नुभयो ।

जीर्णोद्वार या पुनःनिर्माण गर्दा कोतघरको ऐतिहासिकता र मौलिकता जोगाइने नगरप्रमुख गैरेको भनाइ छ । उक्त कोतघरबाट विसं १६३१ देखि १८४४ सम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ ।

राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । कोतघरले झण्डै सात रोपनी जग्गा चर्चेको छ । कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि छ ।