२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान रोप्ने बेलामा मलको हाहाकार, किसान भन्छन्: “सरकार हामीलाई अरु हैन मल देऊ”



अ+ अ-

भक्तपुर । किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् ।

केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन् । सिद्धि गणेश कृषि सहकारी संस्था लिका अध्यक्ष पूण्यराम दुमरुले पाँच किलो मल लिन ३०० देखि ४०० किसान रातिदेखि नै लाइनमा बसेको जानकारी दिनुभयो । संस्थाले केही दिन अगाडि ल्याएको ४० बोरा युरिया, ४० बोरा डिएपी मल र पाँच बोरा पोटास किसानका लागि कनिका छरेजस्तो भएको उहाँको भनाइ थियो ।

अध्यक्ष दुमरुले भन्नुभयो, “सरकारले मल दिँदैन, बल्लतल्ल ल्याएको मल वितरण गर्ने भने पछि रातिदेखि नै ४०० किसान लाइनमा बसे, पाँच–पाँच किलो मल दिँदा पनि पुगेन, कनिका छरेजस्तै भयो, यो असारको बेलामा किसानले मल नपाउनु कृषि प्रधान देश नेपालको लागि निकै दुर्भाग्य हो ।” जुनसुकै पार्टीको नेतृत्वमा सरकार रहँदा पनि कृषि प्रधान देशका लागि चाहिने मल आफ्नै देशमा उत्पादन गर्न मल कारखाना खोल्न नखोज्नुले सरकार कमिसनको चङ्गुलमा फस्ने गरेको प्रष्ट हुने उहाँको आरोप थियो ।

कृषि सामग्री कम्पनीले समयमै मल ल्याउन नसक्दा यस वर्ष पनि किसानले मलको हाहाकार खेप्नुपरेको हो । असार लाग्न लागिसक्दा पनि मल नपाउँदा उत्पादनमा ह्रास हुने भन्दै किसान चिन्तित हुन थालेकाले मलको हाहाकार रोक्न तत्काल सरकारले कदम चाल्नु पर्नेमा अध्यक्ष दुमरुले जोड दिनुभयो ।भक्तपुरकै शिलादेवी कृषि सहरकारी संस्था लिमिटेडका अध्यक्ष राजु सुवालले मल अभावले किसान धान रोप्नै अन्योलमा परेको बताउनुभयो । किसान मल खोज्न सहकारी संस्था धाउदै हिँडे पनि धान रोप्ने बेलामा मल नपाएर भौतारिएको देख्दा कृषि प्रधान देश भन्न पनि लाज लागेको उहाँको भनाइ थियो ।

सोही संस्थाका उपाध्यक्ष गोकुल वनले सरकारले तत्काल मल ल्याउने व्यवस्था नगरे किसान आन्दोलनमा उत्रन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो यस वर्षको मात्र समस्या होइन, देशमा गणतन्त्र र लोकतन्त्र आएपछिको समस्या हो, पञ्चायतकालमा बरु किसानले सजिलै मल पाउँथे, अहिले पैसा तिर्दा पनि मल नपाइने भो, किसानको धैर्यताको बाँध नफुट्दै सरकारले मलको व्यवस्था गरोस् ।”

भक्तपुर नगरपालिकाका–९ का किसान कृष्णराम प्रजापतिले मल नल्याए आन्दोलनमा उत्रने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले किसानलाई पेन्सन दिने कुरा गर्छ, आधुनिक औजार दिने कुरा गर्छ, जमिन बाँझो राख्न पाइँदैन भन्छ, तर अत्यावश्यक मल दिने कुरै गर्दैन, मल कारखाना खोल्ने बजेट ल्याउदैन, पेन्सन त परेको कुरा, हामीलाई अहिले मल चाहियो सरकार, मल देऊ ।”सूर्यविनायक नगरपालिका–८ सिपाडोलका रामभक्त थापाले किसानले मल नपाउँदा धान उत्पादननै घट्ने निश्चित भयो भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकारप्रति आक्रोशित हुँदै उहाँले भन्नुभयो, “खै कुनै पनि सरकारले मल ल्याउन सकेन, बरु पञ्चायतकालमा सरकारले मल दिन्थ्यो, गणतन्त्र आएपछि मल आउनै छाड्यो ।”

सरकारले मलमा अनुदान दिएको छ । अनुदानमा मल दिने भए पनि सरकारी निकायले समयमै मल ल्याउने व्यवस्था गर्न नसक्दा हरेक वर्ष मलको हाहाकार हुँदै आएको छ । काठमाडौँ उपत्यकामा भक्तपुरलाई कृषिको राजधानी मानिन्छ । भक्तपुर र मध्यपुरथिमिमा कृषि भूमि कम रहे पनि सूर्यविनायक र चाँगुनारायणमा कृषियोग्य जमिन धेरै रहेकाले मलको आवश्यकता पनि उच्च रहने गरेको छ । रासायनिक मल समयमै उपलब्ध भए भक्तपुरमा धान उत्पादन राम्रो हुने गरेको छ ।

किसानले मल नपाएपछि नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान सङ्घले आजबाट आन्दोलन सुरु गरेको छ । सरकारलाई मल ल्याउन दबाब दिने उद्देश्यले आज काठमाडौँको रत्नपार्कबाट जुलुस निकाली विभिन्न ठाउँको परिक्रमा गर्दै भोटाहिटी पुगेर सभामा समापन गर्ने सङ्घले बताएको छ । रासस