• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   जनताले बाटोमा भत्ता खाने र काम नगर्ने सांसद भनेर फोटो टाँस्ने स्थिति आइसक्यो: अध्यक्ष दाहाल ★   राष्ट्रियसभा बैठक स्थगित ★   नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि ★   बीसीसीआईले मुख्य प्रशिक्षकको लागि अष्ट्रेलियालीलाई प्रस्ताव गरेको छैन: जय शाह ★   सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी:सभापति डा.राणा ★   पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का ★   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण ★   क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर ★   डोजर लगाएपछि बागलुङका ताल सुक्दै ★   संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे

जनकपुरधामद्वारा सरसफाइको जिम्मा वडा वडालाई



जनकपुर । मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिले नगर क्षेत्र सरसफाइको जिम्मा वडा–वडालाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

विगतमा उपमहानगरपालिका कार्यालयबाट मात्र केन्द्रितरूपमा नगरको सरसफाइ हुँदै आएकामा अब नगरको मुख्य सडक उपमहानगरपालिका कार्यालयबाट र सहायक गल्लीहरू सम्बन्धित वडा कार्यालयबाट सरसफाइ गर्ने गरी वडा–वडालाई जिम्मेवारी हस्तान्तरण गर्न लागिएको हो । उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साहले पदभार ग्रहण गरेकै दिन सरसफाइको जिम्मा वडा–वडामा विकेन्द्रिकृत गर्ने निर्णय गर्नुभएको छ । त्यही निर्णयलाई कार्यान्वयन गर्न उपमहानगरपालिकाले २५ वटै वडालाई सरसफाइका लागि आवश्यक बजेट, जनशक्ति र सवारीसाधन हस्तान्तरण गर्ने तयारी छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्नप्रसाद उपाध्यायका अनुसार चार टिपरलाई नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि प्रयोग गरिएको छ । “थप ६ ट्र्याक्टर खरिद प्रक्रियामा छ, त्यसलाई पनि फोहरमैला व्यवस्थापनमा प्रयोग गर्छौँ”, उहाँले भन्नुभयो । फोहर व्यवस्थापन गर्ने ठाउँ आभाव हुँदा विगतमा अस्तव्यस्त बनेको उपमहानगर क्षेत्रको सरसफाइलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको उपाध्यायले बताउनुभयो ।

“फोहर सङ्कलन गरेर व्यवस्थापन कहाँ गर्ने भन्ने समस्या छ”, उहाँले भन्नुभयो, “अस्थायीरूपमा तत्कालका लागि वडा नं २० मा जग्गा भाडामा लिएर फोहरमैला व्यवस्थापन गर्दै आएका छौँ । स्थायी समाधानका लागि पहल भइरहेको छ ।” बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण जनकपुर उपमहानगरपालिकामा दैनिक फोहर बढ्दै गएको छ । केही वर्षअघिसम्म उपमहानगरपालिका क्षेत्रमा दैनिक सात मेट्रिक टनसम्म फोहर सङ्कलन हुने गरेकामा पछिल्लो समय दैनिक १० मेट्रिक टनसम्म सङ्कलन हुने गरेको छ ।