५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशलाई समृद्ध बनाउने कार्यक्रम र बजेट ल्याउँछौँ: मुख्यमन्त्री राउत



अ+ अ-

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ ।

आजदेखि सुरु भएको मधेस प्रदेशसभाको नवौँ अधिवेशनमा उहाँले चार वर्षको अनुभवलाई प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउने ठोस योजनासहितको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइने बताउनुभयो ।

मुख्यमन्त्री राउतले भन्नुभयो, “यो अधिवेशन प्रदेशसभाको अन्तिम अधिवेशन, यो सरकारको पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अन्तिम नै हो, त्यसैले हामी नीति तथा कार्यक्रममा सबै पक्षको भावनालाई समेट्ने छौँ, प्रदेशका जनताको चाहना र समयसापेक्षअनुसारको नीति तथा कार्यक्रम र बजेट ल्याउने छौँ ।”

ऐन, कानुन निर्माण, प्रदेशको नामकरण र राजधानी टुङ्गो लगाउन सबै दलका प्रदेशसभा सदस्यले सहयोग गरेकाले धन्यवाद ज्ञापन गर्दै उहाँले प्रदेश सरकारबाट प्रदेशसभामा प्रस्तुत हुने आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई आवश्यक सुझाव, सल्लाहसहित पारित गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मधेशी जनताको जीवनमा आमूल परिवर्तन हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गर्दै सबै दलसँग सल्लाह गरेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभयो ।

उहाँले प्रदेश सरकारले यही जेठ २२ गते ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा आफूहरूसँग कुनै सरसल्लाह नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै एकलौटी ढङ्गबाट नीति तथा कार्यक्रम ल्याइए विरोध जनाउने बताउनुभयो ।

मधेस प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल अघि बढाउन आग्रह गर्दै उहाँले प्रदेश सरकारले विशेष सङ्कल्प प्रस्ताव ल्याएर भए पनि विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

आजको बैठकमा उद्योग, वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, प्रदेशसभा सदस्य सत्यनारायण मण्डल, शिवचन्द्र चौधरी, दिलीप साहलगायतले जनतालाई राहत र नयाँ सकारात्मक सन्देश दिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताउनुभयो ।

जारी बैठकमा प्रदेशसभाका सदस्यहरूले आ–आफ्ना धारणा राखिरहनुभएको छ । बैठकको शुभारम्भमै सभामुख सरोजकुमार यादवले नवौँ अधिवेशन आह्वानसम्बन्धी पत्र बाचन गरेर सुनाउनुभएको थियो ।