• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

राष्ट्रियसभामा भईरहेको बजेट छलफलमा विभिन्न दलका सांसदको धारणा यस्तो छ



काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो आकारको बजेटले जनतालाई सपना मात्र देखाएको टिप्पणी गर्नुभएको छ ।

उहाँले लक्ष्य र आधारबिना बजेट विनियोजन गरेर कसरी कार्यान्वयन हुन्छ भनी प्रश्न गर्नुभयो । सङ्घीयतालाई बलियो बनाउनेगरी ठोस् रुपमा बजेट नआएको र प्रदेश सरकारलाई प्राथमिकता नदिएको भट्टराईको भनाइ थियो ।

उहाँले प्रदेश र स्थानीय तहमा विनियोजन भएको बजेटमा वित्तीय मितव्ययिता नदेखिएको तथा बजेटको आकार बढाइए पनि पूँजीगत खर्च घटेको बताउनुभयो । उत्पादनमा गिरावट, सात प्रतिशतले महँगी बढ्नुले मुलुकलाई आर्थिक सङ्कटतर्फ धकेलको आशङ्का व्यक्त गर्दै सांसद भट्टराईले पूँजीगत खर्च गर्ने क्षमता नबढाइकन आर्थिक वृद्धि गर्ने कुरा सम्भावना नरहेको जिकिर गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद रमेशजङग रायमाझीले बजेटले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारीलगायत विषयलाई प्राथमिकता दिएको जनाउँदै कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले हरेक वर्ष बजेटप्रति सत्ता र प्रतिपक्षबीच पक्ष र विपक्षमा जुहारी चल्ने गरेको भन्दै बजेटको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य जरुरी भएको उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले प्रत्येक वडा कार्यालयमा ज्येष्ठ नागरिक क्लब स्थापना गर्न माग गर्नुभयो । उहाँले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले बजेट निरन्तरतामुखी भएको बताउँदै नीतिगत भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रण गर्नेगरी बजेट आउन नसकेको टिप्पणी गर्नुभयो । जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले प्रादेशिक र सङ्घीयतालाई मजबुत तथा संस्थागत गर्नेगरी बजेट आएको बताउनुभयो ।