७ मंसिर २०८१, शुक्रबार
,
Latest
कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने !
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ गठबन्धन सरकारको आगामी आवको बजेट



फाईल फोटो
अ+ अ-

काठमाडौं । गठबन्धन सरकारले कृषि क्षेत्रको दीर्घकालीन विकास, उद्योग क्षेत्रको विस्तार, बेरोजगारीको अन्त्य, ऊर्जा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको बजेट अध्यादेशबाट सार्वजनिक भएको सन्दर्भमा सरकारले सङ्घीय संसद्मा नै रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेको हो । चालु आवमा कूल रु १६ खर्ब ४७ अर्ब ५७ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । त्यसमा सङ्घले गर्ने खर्च रु छ खर्ब ७८ अर्ब ६१ करोड बराबर थियो ।

चालु आवको तुलनामा सरकारले रु एक खर्ब ४६ अर्ब २६ करोड बढी बजेट प्रस्तुत गरेको हो । कोरोनाबाट क्रमशः उद्योग प्रतिष्ठान पूर्ण क्षमतामा सञ्चालन हुन थालेको तथा अर्थतन्त्रका अन्य गतिविधिसमेत विस्तार हुन लागेको सन्दर्भमा सरकारले आगामी आवमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने लक्ष्य प्रक्षेपण गरेको छ ।

रुस युक्रेन सङ्घर्षका कारण बाह्य क्षेत्र चापमा परेको सन्दर्भमा सरकारले मूल्यवृद्धिलाई सात प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेटमा कृषि क्षेत्रलाई पहिलो पटक विशेष प्राथमिकतामा राखिएको छ । कूल ४३० बुँदामा समेटिएको बजेटले आर्थिक विकास र विस्तारको गतिलाई समात्ने टिप्पणी गरिएको छ । उद्योगी व्यवसायीले सरकारको बजेटले आफ्ना सबै माग सम्बोधन गरेको भन्दै प्रसन्नता प्रकट गरेको छ ।

कोरोना महामारीको पुनरावृत्ति र २०७८ कात्तिक महिनामा आएको बेमौसमी वर्षाले धानलगायत कृषि बाली र पूर्वाधारमा पु¥याएको क्षतिका कारण चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न चुनौति रहेको सन्दर्भलाई बजेटमा समावेश गरिएको छ । सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि चालेको कदम, कोरोना विरुद्धको खोप अभियान एवं राहत तथा आर्थिक पुनःस्थापनालगायत कार्यक्रमको परिणामस्वरूप आर्थिक तथा सामाजिक जीवन सहज हुनुका साथै अर्थतन्त्रले लय लिएको विषयलाई सम्बोधन गरिएको छ ।

महामारीका कारण अति प्रभावित पर्यटन तथा यातायात क्षेत्रलगायत अधिकांश उद्योग व्यवसायहरू सञ्चालनमा आएको, कोभिड महामारी पश्चातको पुनरूत्थानले गति लिन थालेको अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब चुनौतिको रूपमा देखिएको छ । विश्व बजारमा इन्धनलगायत वस्तुहरूको मूल्य वृद्धिले थप चुनौति थपिदिएको तथ्यलाई बजेटमा समावेश गरिएको छ ।

वस्तु आयातको तुलनामा निर्यातमा उल्लेखनीय रूपमा वृद्धि भए निर्यातको साँघुरो आधार र आयातको तुलनामा न्यून परिमाण रहेकाले व्यापार घाटा उच्च रहन पुगेको छ । सोही कारण चालु खाता घाटा वृद्धि भएको छ भने भुक्तानी सन्तुलनमा पनि चाप परेको विवरणलाई बजेटले समेटेको छ ।

चालु आवको यस्तो छ खर्च विवरण

चालु आवमा कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान छ । कूल सरकारी खर्चमध्ये चालु खर्च रु नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजीगत खर्च रु तीन खर्ब नौ करोड अर्थात ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीले सदनलाई जानकारी गराउनुभयो । चालु आवमा लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड बराबर राजस्व सङ्कलन हुने अनुमान छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान अर्थमन्त्रीको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रु एक खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइएको छ । चालु आर्थिक वर्षमा रु दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुनेछ ।

यस्तो छ प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरण

आगामी आवको बजेटमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई रु एक खर्ब २३ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ ।

सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः रु ५७ अर्ब १७ करोड र रु एक खर्ब ८३ अर्ब ७२ करोड गरी जम्मा रु दुई खर्ब ४० अर्ब ८९ करोड विनियोजन गरिएको छ । प्रदेश तथा स्थानीय तहलाई पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान स्वरूप क्रमशः रु छ अर्ब ३० करोड र रु सात अर्ब २७ करोड विनियोजन भएको छ । विशेष अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः रु चार अर्ब ५६ करोड र रु नौ ९ अर्ब १४ करोड विनियोजन भएको छ । राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा रु एक खर्ब ६३ अर्ब ३ करोड रकम हस्तान्तरण हुने अनुमान गरिएको छ ।

कृषिमा ५५ अर्ब ९७ करोड

सरकारले बजेटमार्फत कृषि क्षेत्रको उन्नयनलाई जोड दिएको छ । किसानलाई आवश्यक पर्ने कृषि कर्जा किसानको घरदैलोमा सरल र सहज रूपमा उपलब्ध गराउन रु पाँच खर्ब बराबरको कर्जा प्रवाह गर्न एक लघु वित्त कोष स्थापना गर्ने लक्ष्य बजेटले राखेको छ । आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम कार्यान्वयनका लागि रु १० अर्ब विनियोजन गरिएको छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनःसरचना गरी पुँजी संरचना र संस्थागत क्षमता अभिवृद्धि गर्दै गाउँपालिका र नगरपालिकाले क्रमशः रु ५० लाख र रु एक करोड सम्म शेयर लगानी गर्न पाउने प्रबन्ध बजेटले गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि रु पाँच अर्ब ९० करोड विनियोजन गरिएको छ । किसानसँग सरकार कार्यक्रमअन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरूआत गर्न किसान हित कोष स्थापना गर्ने बजेटमा उल्लेख छ । सो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम नेपाल सरकारले जम्मा गरिदिनेछ । कोष स्थापना गर्न सरकारले प्रारम्भमा बीउ पुँजी बापत रु एक अर्ब बराबरको बजेट प्रबन्ध गरेको छ ।

धान लगायतका खाद्यान्न भण्डारणका लागि मुलुकभर १०० सामुदायिक खाद्य गोदाम घर निर्माण गर्न रु ४५ करोड विनियोजन गरिएको छ । कृषि बाली तथा पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान प्रदान गर्न रु ७६ करोड उखु किसानलाई अनुदान उपलब्ध गराउन रु ८१ करोड विनियोजन गरिएको छ ।

कुन निकायलाई कति बजेट

आगामी आवको बजेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि रु १० अर्ब ४८ करोड बजेट विनियोजन गरिएको छ । पर्यटन क्षेत्रको लागि रु नौ अर्ब ३८ करोड बराबरको बजेट व्यवस्था गरिएको छ । हवाई पूर्वाधार विकासका लागि रु १२ अर्ब २४ करोड बजेट उपलब्ध भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि रु सात अर्ब चार करोड बजेट उपलब्ध छ । वन तथा वातावरण मन्त्रालयको लागि रु १३ अर्ब विनियोजन गरिएको छ । बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि रु सात अर्ब पाँच करोड उपलब्ध गराइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि रु नौ अर्ब १३ करोड, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लागि रु ६९ अर्ब ३८ करोड, स्वास्थ्य क्षेत्रको लागि प्रदेशमा रु छ अर्ब २६ करोड र स्थानीय तहमा रु २७ अर्ब ४४ करोड हस्तान्तरण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि रु ७० अर्ब पाँच करोड, शिक्षा क्षेत्रतर्फ प्रदेशमा रु पाँच अर्ब ३२ करोड र स्थानीय तहमा रु एक खर्ब २१ अर्ब एक करोड, शहरी खानेपानी तथा सरसफाइ आयोजनाका लागि रु चार अर्ब ४४ करोड विनियोजन भएको छ । खानेपानी क्षेत्रको लागि रु ३७ अर्ब ३५ करोड, सामाजिक सुरक्षा भत्ता र औषधि उपचार तथा आर्थिक सहायता समेतको लागि रु एक खर्ब ३४ अर्ब एक करोड बजेट उपलब्ध गराइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को लागि रु दुई अर्ब नौ करोड गरी युवा तथा खेलकुद मन्त्रालयको लागि रु दुई र्ब ४६ करोड उपलब्ध गराइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि रु एक अर्ब ७७ करोड बराबरको बजेट उपलब्ध हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि रु एक खर्ब ६१ अर्ब ५६ करोड र विद्युत् प्रसारण लाइन तथा सवस्टेशन निर्माणको लागि रु ४३ अर्ब ९५ करोड विनियोजन भएको छ ।

ऊर्जा क्षेत्र विकासको लागि रु ७५ अर्ब १० करोड, जलस्रोत तथा सिँचाइतर्फ रु ३३ अर्ब ५० करोड उपलब्ध हुँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आठ अर्ब ५९ करोड विनियोजन भएको छ । शहरी विकास मन्त्रालयको लागि रु ३७ अर्व ७३ करोड, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लागि रु २५ अर्ब तीन करोडका अतिरिक्त प्रदेशका लागि रु छ अर्ब ३५ करोड र स्थानीय तहमा रु पाँच अर्ब ६० करोड हस्तान्तरण गरिएको छ । रासस