• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन ★   कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि–स्टेटको जग्गाको अवस्था ?– तस्बिरहरु ★   इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’ ★   नक्कली डाक्टर पक्राउ ★   जीप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते ★   गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै ★   आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले मत दिने तर सरकारमा नजाने

गण्डकी प्रदेश सरकारद्वारा नागरिकको जीवनस्तरमा परिवर्तन हुनुपर्नेमा जोड



गण्डकी । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ ।

नेपाली जनताको लामो संघर्षको उपलब्धिस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन आवश्यक रहेको बताउँदै कार्यक्रमका वक्ताले व्यवस्थासँगै नागरिको आर्थिक एवम् सामाजिक विकास भएमा मात्र त्यसको सार्थकता सिद्ध हुने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र केबल शासनप्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीकारुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने बताउनुभयो । गणतन्त्र नेपाल घोषणा भएपछि सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध हुन्छ भन्ने आम नेपालीको अपेक्षा आंशिकरुपमा सम्बोधन भए पनि त्यो पूर्ण हुन नसकेको उहाँले बताउनुभयो ।

“जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन स्वयं दिगो र संस्थागत हुन पनि सक्दैन”, उहाँले भन्नुभयो । संघर्षका समयमा जनतासामु गरेका प्रतिवद्धता तथा वीर अमर शहीदका सपना साकार पार्नु सबैको सामूहिक दायित्व र कर्तव्य बनेको बताउँदै उहाँले हिजो संघर्षका दिनमा जस्तै हामी सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक भएकोमा जोड दिनुभयो ।

गणतन्त्र दिवसले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने उहाँले कामना गर्नुभयो । हालै मुलुकमा आम जनताको उत्साहपूर्ण सहभागितामा स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु सबैका निमित्त खुशीको विषय भएको उल्लेख गर्दै उहाँले हालै सम्पन्न स्थानीय तहको निर्वाचनसँगै अब हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई संस्थागत र थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गनर्तुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तन गर्न नसके त्यसको कुनै अर्थ नहुने बताउनुभयो । व्यवस्थामा परिवर्तन आए पनि जनताको आकांक्षा अनुसार बढ्न नसकिएको वास्तविकतामा जनताका आवश्यकता तथा चाहनालाई सम्बोधन गर्ने गरी एकतावद्ध रुपमा लाग्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । व्यवस्था परिवर्तनमा दलहरूबीचमा देखिएको सहमति, सहकार्य र एकताको भावनालाई आत्मसात गर्दै आगामी दिनमा पनि त्यही भावनाका साथ अघि बढ्नु जरुरी रहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले विसं २००७ सालदेखिको नेपाली जनताको चाहना र संघर्षको प्रतिफलस्वरुप गणतन्त्र दिवस मनाउने अवस्थामा पुगिएको बताउँदै यसको संस्थागत विकास आवश्यक भएको बताउनुभयो । जनताको आर्थिक, सामाजिक परिवर्तन हुन सकेमा मात्रै दिवसको सार्थकता रहने बताउँदै उहाँले सरकार तथा राजनीति दलहरू त्यसतर्फ लक्षित हुनुपर्ने बताउनुभयो ।

आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गणतन्त्र दिवस नेपाली जनताको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो समयको संघर्षको प्रतिफलस्वरुप गणतन्त्र प्राप्त भएको बताउँदै जनतालाई यसको अनुभूति गराउन अझै धेरै काम बाँकी रहेको बताउनुभयो । जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी एकतावद्ध प्रयास आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशमा उत्कृष्ट काम गर्ने कार्यालयसँगै विभिन्न कर्मचारीलाई पुरस्कृत गरिएको थियो । समारोहअघि पोखराको सहिद चोकस्थित पार्कमा माल्यार्पण गरि विभिन्न झाँकीसहितको र्यालीआयोजना गरिएको थियो ।