काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि एमालेमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको बताएका छन् ।
एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै पोखरेलले एकतापछि मात्र पार्टीमा चार लाख सदस्य थपिएका र तीमध्ये अधिकांश युवा रहेको उनले उल्लेख गरे ।
गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि एमालेमा युवाको आकर्षण बढेको महासचिव पोखरेलले पेश गरेको प्रतिवेदनमा छ ।
पोखरेलले माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठनपछि एमालेले केन्द्रमा २० प्रतिशत नेता र प्रदेश र स्थानीय तहसमेतका गरेर १० प्रतिशत जनप्रतिनिधि एमालेले गुमाएको जानकारी दिए ।
प्रतिवेदनमा उनले पार्टीको सदस्य बढेको बताए पनि १० बुँदे सहमतिले भने २ जेठ २०७५ अघिका संगठित सदस्यले मात्र महाधिवेशनमा भाग लिन पाउने प्रावधान एमालेको छ ।
एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ ।











