७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीसवर्ष सडकको बासपछि यसरी तुलसालय पुगे ‘बंगाली’



अ+ अ-

काठमाडौं । तीस वर्षभन्दा बढी बिताए उनले यही गाउँटोलमा । चापागाउँ दोबाटोमै पोखियो उनको पसिना र जीवन पत्तै पाएनन् । उनी घरको अर्थात् सानोतिनो कामका सारथि नै थिए । कसको घरमा के काम पथ्र्याे उनी उनी हाजिर हुन्थे । त्यसैले सबैको मुखैमा झुण्डिएको थियो ‘बंगाली’ । घर भारतको बंगाल बताउने उनी त्यस्तै अठार बीस बर्षजतिमा यहाँ आएका हुन् । त्यसपछि यतै भुले ।

गाउँटोलबासी भन्थे– सारै इमान्दार छ । रातिको समयमा कोही केटी मान्छे या महिला त्यही बाटो भएर हिँड्दा पनि उनी छन् भनेपछि ढुक्क हुने । कोही त्यस्तै मानिसले रातिको समयमा हिँड्ने महिला या बालिकालाई त्यस्तै नजरले हेर्यो भने पनि उनले प्रतिवाद गर्थे । यसो घरको काम गरिदिन्थे बास भने सडकमै थियो । कसैको घरमा काम गर्यो, एक दुई सय पायो,यसो केही खायो बास सडकमै । डेरा या कुनै बस थिएन । सडकमै बिताए कम्तीमा तीन दशक । चापागाउँ दोबाटो छिर्ने गल्ली तिरै हुन्थ्यो उनको बास । त्यतै कसैकामा यसो भोज या पाटी पर्यो भने राति त्यतै सुतिदिन्थे नत्र बास सडकमै हो ।

यतिखेर भने उनी सडकको आफ्नो ‘ओछ्यान’बाट नउठेको करिब २० दिन भएछ । शरीर चल्न नसक्ने भयो, कमजोर भए, सुतेको सुत्यै । सुतेको ठाउँमै किरा भन्किन थाले । त्यसपछि एकजना आनी कुँवर बालाले देखेर फेसबुकमा स्टाटस लेखिन्– मानिस मरेपछि मात्र उपचार खोज्ने यो समाज कहिल्यै सुध्रिएन । यस्ता बेसहाराको लागि सरकार त हुनुपर्ने खोइ कसले हेर्ने हो ? त्यस लगत्तै नेवि संघका नेता तथा समाजसेवी दिनेशविक्रम शाहले खबर गरे तुलसालय हरिहर प्रतिष्ठानकी अध्यक्ष सरु सुवेदीलाई ।

बुधबार सरु झापा थिइन् । त्यस लगत्तै उनी आइन् र उनी रहेको स्थानमा दिनेश र सरु पुगे । त्यस लगत्तै सुरु भयो बंगालीको उद्धारको काम ।
सात दोबाटो प्रहरीले पनि ती व्यक्तिलाई चिनेको बताउँछ । उनको नाम कसैलाई थाहा छैन तर आफू बंगाली भएको उनले बताएपछि लामो समयदेखि सबैले उनलाई बंगाली भन्दै आए । बुधबार भैंसेपाटी प्रहरीको समन्वयमा सातदोबाटो प्रहरीको सहयोगमा उनलाई उद्धार गरी चाँगुनारायणमा रहेको तुलसालय आश्रममा पुर्याइयो ।

आश्रममा लगेपछि सरुले उनलाई नुहाइ धुवाई गरी नयाँ कपडा लगाइदिइन् । अनि खिसिक्क हाँसे बंगाली । अहिले उनको शरीर हाडछाला मात्रको छ । हुनत उनको बास सडककै हो तर यसपालि सडकमा थला परेपछि भने कसैले हेरेनन् उनलाई । आश्रममा पुगेपछि आफूले जीवन पाएको महसुस गरेर हास्न थालेको सरु बताउँछिन् ।

अहिले यस तुलसालय आश्रममा बालबालिका र बृद्धबृद्धा गरेर ३० जना भन्दा बढी असहायहरु छन् । हुम्लामा आफूलाई जन्म दिएको केही मिनेटमै आमा गुमाएकी स्तुती पनि यहीँ छन् । सरुले नै २० दिनको बच्चा हुम्ला पुगेरै उद्धार गरेर ल्याएकी हुन्, अहिले स्तुती ४ महिनाकी भइन् । उनी र उनका दुई दिदीलाई सरुले उद्धार गरेर ल्याएकी थिइन् । आफैँसँग राखि, आफ्नै छोरी बनाएर सरुले स्तुतीलाई हुर्काएकी छिन् ।

सरु भन्छिन्– कुनै स्थानमा यसरी मानिस असहाय भएको भन्ने सुनेँभने म सहनै सक्दिन । घरायसी कामले झापा पुगेकी थिएँ । दिनेश भाइले फेसबुक स्टाटस सेयर गरेपछि म झापाबाट बुधबारै आएँ र हामी सातदोबाटो पुगेर बंगालीको उद्धार गर्यौँ । अब उनी आश्रममै सुरक्षित छन् । यस्तै अरु कैयौँ बेसहारा छन् हामीसँग । साना नानीबाबुहरु छन् । मैले नै खुवाउने, पालनतालन गर्ने भएकाले मलाई त मेरै सन्तान जस्तो लाग्छ तर ती हामी सबैका सन्तान हुन् । हामी सबैले आआफ्नो स्थानबाट उनीहरुको जीवनका लागि सहयोग गर्न सक्छौँ । शिक्षादिक्षा सहित उनीहरुको भविष्य निर्माण गरिदिन हामी सबैले सहयोग गर्न सक्छौँ ।

आफ्नी आमा तुलसादेवी सुवेदीको स्मृतिमा सरुले सो आश्रम स्थापना गरेकी हुन् । आज यस आश्रम दर्जनौँ लालाबाला र असहायहरुको आफ्नो घर बनेको छ । यहाँ स्तुतिजस्ता अरु पनि कैयौँ लालाबालाले माया र जीवन पाइरहेका छन् । आश्रममा रहेका १८ जना बालबालिकालाई हालै एकैदिन विद्यालय पठाएको बडो भावुक दृश्य सरुले आश्रमको फेसबुक पेजमा राख्दा धेरैले निकै भावुक भएर कमेन्ट गरेका थिए । उनीहरुलाई भक्तपुर सूर्यविनायकको आशा शिक्षा सदनले लगभग निशुल्क पठनपाठनमा सहयोग गरेको छ । आश्रममा पुग्ने जोकोही पनि सरुको समाजसेवा देखेर भावकु भएर फर्किने गर्दछ ।