४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

जलविद्युत् आयोजनाबाट म्याग्दीका बासिन्दालाई दोहोरो लाभ

जलविद्युत् आयोजनाबाट म्याग्दीका बासिन्दालाई दोहोरो लाभ
अ+ अ-

– सन्तोष गौतम
म्याग्दी । यहाँ निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाबाट स्थानीय समुदाय लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ र रघुगङ्गा गाउँपालिका–४ दग्नाम, ५ झिं, ६ पाखापानी, ७ चिमखोला र ८ कुइनेमङ्गलेका बासिन्दा लाभान्वित भएका हुन् ।

गोरेटो, घोडेटो हुँदै पछिल्ला केही वर्षदेखि राजनीतिक दलहरूले मोटरबाटोको सपना देखाएर भोट माग्दै आएकामा अजिङर (झ्यान्द्राभीर) फोडिएसँगै दर्मिजा, चिमखोला, चौरखानी, घ्यासीखर्कदेखि धौलागिरि हिमालको फेदीसम्मै मोटरबाटो उक्लेको छ ।

दग्नाम–चिमखोला ४.८१ किलोमिटर सडक खन्न सङ्घ, प्रदेश र स्थानीय पालिकाबाट करिब रु सात करोड खर्च भएकामा दग्नाम–दर्मिजा ८०० मिटर र दर्मिजा–चिमखोला खण्डको गोखोभीरको ६३० मिटर अक्करे पहाड फोर्न तुँदीपावर कम्पनीले मात्र रु १२ करोड खर्च गरेको छ । उक्त कम्पनीले छुट्टै चिमखोलास्थित ठूलोखोलामा बेलिब्रिज र संयुक्त ऊर्जाले कुइनेमङ्गलेको छरीमा अर्को बेलिब्रिज बनाएपछि धौलागिरि फेदीका अति दुर्गम बस्ती सडकसँग जोडिएका हुन् । तुँदीपावर कम्पनीले राहुघाटखोलामा ३५.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र सोही खोलामा अर्को ४८.५ मेगावाट क्षमताको अपरराहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै राहुघाटखोलामा निर्माणाधीन अर्को संयुक्त ऊर्जाले २१.३ मेगावाट क्षमताको ठूलोखोला आयोजना निर्माण गरिरहेको छ । आयोजनाले पनि समुदायमा गर्ने स–साना योजनाबाहेक पहुँचमार्ग निर्माण गर्दा माथिल्ला बस्तीलाई पनि सडक पहुँच पुगेको हो । “राहुघाटखोलामा निर्माणाधीन आयोजनाबाट रघुगङ्गा गाउँपालिकामा सडक निर्माणमा ठूलो आर्थिक राहत भएको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भन्नुभयो, “सङ्घ/प्रदेशबाट विनियोजित बजेट ट्रेन र हाम्रो क्षमताले यी बस्तीमा दशकअघि सडक जोड्न कठिन थियो, आयोजनाले आफ्ना लागि पहुँचमार्ग बनाउनैपर्ने हुँदा पालिकासँग योजनामा साझेदारीमा सडक खन्यौँ, हाम्रो सानो सहभागिताले धेरै लाभ पुगेको छ ।”

सुरुमा पाखापानीलाई रघुगङ्गा गाउँपालिकाको अस्थायी केन्द्र तोकेपछि उत्पन्न विवाद २०७४ को स्थानीय तह निर्वाचनपछि गाउँसभाको बहुमतले ५, ६ र ८ नं वडाका झिं, पाखापानी र कुइनेबस्तीलाई मोटरबाटोले जोड्न प्रतिबद्धतासहित पालिकाको केन्द्र रघुगङ्गा–३ मौवाफाँट तोक्यो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्धारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले रघुगङ्गाका वडा नं ४ र ५ को सिमानामा पर्ने बुक्लस्थित राहुघाट नदीमाथि ट्रस प्रविधिको पुल निर्माण गरेको छ । आयोजनाले बुक्लदेखि रघुगङ्गा–५ झिँ जोड्ने करिब पाँच किलोमिटर सडक पनि निर्माण गरेको छ ।

सो सडक र पुलले रघुगङ्गाको झिँ, पाखापानी र कुइनेका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँटसम्म यातायात सञ्जालसँग जोडेको छ । मौवाफाँट जान बेनी र गलेश्वर हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको झिँका वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताउनुभयो ।

जलविद्युत् आयोजनाबाट लाभान्वित भएको अर्को बस्ती अन्नपूर्ण–४ नारच्याङ हो । बस्तीमा आयोजनाको लर्को लागेपछि भौतिक पूर्वाधार विकास मात्र भएको छैन, नारच्याङवासीको जीवनशैलीमा पनि परिवर्तन आएको छ । पाखापखेरा र ढुङ्गेबगरको जग्गाको मूल्य अकासिएको छ । पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना सम्पन्न भएका छन् ।

बासठ्ठी मेगावाटको नीलगिरि क्यास्केड, ३८ मेगावाटको नीलगिरिखोला र छ मेगावाट क्षमताको रेलेखोला हाइड्रोपावर निर्माणाधीन छन् । यी आयोजनामा कम्तीमा ५०० स्थानीयवासीले क्षमताअनुसारको रोजगारी पाएका छन् । बेनी–जोमसोम–कोरोला सडकबाट पारी नारच्याङ पुग्न कालीगण्डकी नदीमाथि बेलिब्रिज बनेको छ  । नारच्याङ–गाडपार, पटार जोड्न मिस्त्रीखोलामा छुट्टै बेलिब्रिज बनेको छ । स्थानीय तीन विद्यालयमा दुई–दुई जनाका दरले शिक्षकको तलबभत्ता, अन्य खेलकूद मैदानसमेत पूर्वाधारमा सहयोग, आमा समूह, युवा क्लबले आर्थिक तथा भौतिक सहयोग पाएका छन् ।

धौलागिरि–५ खाम्लामा ड्याम बनाइ मालिका–७ भारवाङमा विद्युत् गृह बन्ने ५३.५ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजना र धौलागिरि–४ मुदीमा निर्माण हुने ५७.३ मेगावाटको म्याग्दीखोला आयोजनाले पनि धमाधम पहुँचमार्ग निर्माण गरिरहेका छन् । यी आयोजनाले निर्माण गर्ने पहुँचमार्गले मुदीको नाउरा, बगरा, खिवाङ, मराङबस्ती तथा बिमको तल्लो क्षेत्रका बासिन्दालाई यातायात सुविधा पुग्नेछ ।