६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी सभ्यताको सफाइलाई प्राथमिकतामा राख्ने उम्मेदवारका प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले नदी सभ्यताको सफाइलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

बागमती सफाइ महाअभियानले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिका नगरप्रमुख पदका लागि नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले फोहरलाई घरबाटै वर्गीकरण गरेर नदीसम्म जान नदिने प्रतिबद्धता जनाउनुभयो । कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनःप्रयोग गरी मोहर आर्जन गर्ने गरी महानगरपालिकाले नीति निर्माण गर्ने उहाँको योजना छ ।

ढल व्यवस्थापन, वृक्षरोपण, नदी किनारलगायत सार्वजनिक जग्गाको संरक्षणलाई पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ थियो । पाँच दलीय गठबन्धनले सांस्कृतिक सहरका रुपमा परिचित काठमाडौँका सम्पदाको संरक्षणमा पनि काम गर्ने प्रतिबद्धता जनाएको छ ।

नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख पदका उम्मेदवार केशव स्थापितले उपत्यकामा भित्रने सवारीलाई नाकामै सफाइ गरेर मात्र प्रवेश गर्ने कानुनी व्यवस्था गरी सफाइका लागि काम गर्ने बताउनुभयो । दुई हजार महिला स्वयंसेवक परिचालन गरेर राजधानीका नदी एवं सहर सफाइमा काम गर्ने उहाँको भनाइ थियो । यसअघि आफूले राजधानीका नदी सफाइ गर्ने सन्दर्भमा गरेको अध्ययन कार्यान्वयन गर्ने प्रतिबद्धता पनि नेता स्थापितको थियो ।

महानगरपालिकामा विवेकशील साझा पार्टीका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार समीक्षा बाँस्कोटाले आफू नगरप्रमुखको पदमा पुगेपछि पहिलो काम नै फोहर व्यवस्थापन गर्नमा लगाउने बताउनुभयो । प्लाष्टिक कम प्रयोग गर्ने गरी महानगरमा नीति निर्माण गरिने उहाँको भनाइ थियो ।

यसैगरी काठमाडौँ महानगरपालिकाकै नगरप्रमुख पदका उम्मेदवार सुशील थापा र उपप्रमुख पदका उम्मेदवार रिंकु श्रेष्ठले अरु देशमा खुला स्थानमा थुक्दा पनि कारबाही हुने सुनाउनुहुँदै महानगरमा पनि त्यो व्यवस्था कार्यान्वयन गराउने प्रतिबद्धता जनाउनुभयो । महानगरपालिकामा नगरप्रमुख पदका अर्का स्वतन्त्र उम्मेदवार रविकान्त मानन्धरले पानी र ढलको व्यवस्थापन एक अर्कामा अन्तर सम्बन्धित रहेकाले दुवैको व्यवस्थापनमा काम गर्ने आफ्नो कार्यक्रम सुनाउनुभयो ।

ललितपुर महानगरपालिका नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार उज्ज्वलकृष्ण श्रेष्ठले व्यक्ति व्यक्तिलाई सफाइ शिक्षा दिएर नदी सफाइका लागि जागरण ल्याउने बताउनुभयो । कार्यक्रममा काठमाडौँ उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारलाई बोलाइएको जानकारी आयोजकले गराएपनि अरु पालिकाका उम्मेदवार भने आएनन् ।

सो अवसरमा पूर्व मुख्य सचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेलले विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानका क्रममा हालसम्म २० हजार मेट्रिक टन फोहर व्यवस्थापन भएको जानकारी दिनुभयो । महाअभियानमा १५ लाख स्वयंसेवकले सहभागी भएर सफाइ गरिसकेको जनाइएको छ । महाअभियान नौ वर्ष पूरा गरी १० वर्षमा प्रवेश गर्न लागेको जानकारी पनि सो अवसरमा गराइएको थियो । रासस