१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटनमा विश्व पर्यटन दिवस मनाइयो



अ+ अ-

काठमाडौं । पाटन दरबार आसपासका क्षेत्रमा साइकल ¥यालीका साथै साँझमा दीप प्रज्वलन गरी विश्व पर्यटन दिवस २०२१ मनाइएको छ । ललितपुर महानगरपालिकाका साथै ललितपुर उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा पाटनका धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसारका लागि द्वीप प्रज्वलन गरिएको हो । 
    
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले पर्यटन क्षेत्रले कम लगानीमा नागरिकको चेतना वृद्धि गराउने उल्लेख गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोभिडका कारण पर्यटन क्षेत्र खुम्चिन पुगेको बताउनुभयो । महानगरपालिका सांस्कृतिक सम्पदा केन्द्रका प्रमुख सहजीत राईले मुलुकमा पटकपटक भित्रने रोग र भूकम्पका कारण पर्यटन क्षेत्रलाई धेरै असर पुयाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रलाई मजबुत बनाउन सबै क्षेत्रबाट साझा पहलको जरुरी छ ।”

सङ्घका अध्यक्ष मनोजबहादुर न्याछोंले सो दिवसका सन्दर्भमा दरबार क्षेत्रबाट पाटनका धार्मिक मार्गहरु करिब ८० ले साइकल यात्रीले यात्रा गरी भव्यताका साथ मनाइएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीले भासिएको पर्यटन क्षेत्र विकासका लागि समयसापेक्ष आकर्षित योजना ल्याउन जरुरी छ ।”

सङ्घका कार्यसमिति सदस्य अपुलाल अवालेले पाटनमा आठौँदेखि १२औँ शताब्दीसम्मका मन्दिरहरु रहेका जानकारी गराउँदै नेपाल पर्यटन बोर्डले सोको प्रचारप्रसारमा लाग्नुपर्ने औँल्याउनुभयो । पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५औँ कला नगरी घोेषणा गरिसकेको छ । 

पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छ । पाटनमा दरबार स्क्वायर, कृष्ण, तलेजु र भीमसेन आदि मन्दिर रहेका छन् । पाटन धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रुपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो सहर पर्दछ । कार्यक्रममा पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निर्माण हुने गरेका चर्चा गरियो ।