१७ असार २०८३, बुधबार
,
Latest
शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोगटानबासीका दुःखका दिन अन्त्य भए : मुख्यमन्त्री भट्ट



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बोगटानबासीका दुःखका दिन अन्त्य भएको बताउनुभएको छ । सहजपुर–बोगटान हुँदै दिपायल जोड्ने हालै ट्र्याक जोडिएको सडकको अनुगमनका लागि आज डोटीको बडिकेदार गाउँपालिका पुग्नुभएका उहाँले वषौंपछि सडक जोडिएका कारण यहाँका नागरिकको दुःख अन्त्य भएको बताउनुभएको हो । सडक अनुगमनका क्रममा आयोजना गरिएको एक कार्यक्रममा मुख्यमन्त्री भट्टले सहजपुर–बोगटान सडक सुञ्चालन हुने भएकाले अब यहाँका नागरिकलाई घरैमा रोजगारी मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अथक प्रयासले वर्षौपछि सडक जोडिएको छ, सडक पूर्ण हुने बोगटानवासीको सपना पनि पूरा भएको छ, अब यहाँका फलफूल तथा तरकारीले बजार पाउने छन्, नागरिकलाई घरैमा रोजगारी मिल्नेछ ।”

मुख्यमन्त्री भट्टले प्रदेश सरकार स्थापनापछि सुदूरपश्चिममा सानाठूला गरी थुप्रै विकास भएको दाबी गर्नुभयो । “सानोतिनो विकासका कामका लागि केन्द्र सरकारमा धाउनुपर्ने परम्परा अन्त हुनाका साथै प्रदेशमा लामो समयदेखि निर्माण नभएका योजना पनि सम्पन्न भएका छन्,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा थुप्रै विकासका कामहरू गरेका छन्, जो क्रमिक रुपमा सम्पन्न हुँदैछन् ।” सहजपुर–बोगटान हुँदै दिपायल जोड्ने सडक जोडिएपछि अब यहाँका नागरिकको घरैमा गाडी चढ्न पाउने सपनासमेत पूरा भएको उहाँको भनाइ थियो । 

यसैगरी उहाँले हालै मात्रै जोडिएको उक्त सडक कालोपत्रका लागि प्रदेश सरकारले पहल गर्नेसमेत आश्वासन दिनुभयो । उक्त सडक शिलान्यास भएको कम्तीमा पनि ३५ वर्षपछि गएको आइतरबार अर्थात् असोज ३ गते जोडिएको हो । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखको लागतमा निर्माण भएको हो । विसं २०३८ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतको निर्वाचनदेखि चर्चामा आएको बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकमा खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरूपमा निर्माण गरी ट्र्याक जोडिएको हो । विसं २०४३ देखि सडक निर्माण कार्य सुरु भएको उक्त सडकको बल्ल ट्र्याक जोडिएको भन्दै यहाँका नागरिक खुसियाली मनाइरहेका स्थानीयवासी हिक्मत देउवाले बताउनुभयो ।

कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकलाई निकै राहत भएको छ । उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआईसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन् । 

सडक सुविधा नभएका कारण ती क्षेत्रका किसानले उत्पादन गरेका वस्तु बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेका थिए । सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने भन्दै किसान बढी खुसी भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । जिल्लाको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार ९हल्दी० तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ । यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो ।