• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती ★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए ★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

कठै महिला स्वास्थ्य…चुनावमा नसमेटिने ?



३५ वर्ष भएछ मैले डाक्टर भएर काम गरेको । पहिलोपल्ट प्रसूतिगृह थापाथलीमा मेडिकल अफिसर भएर काम गर्दा र विभिन्न स्वास्थ्य शिविरमा बिरामी जाँच्दा बिरामीलाई भिटामिन त दिनैपर्छ भन्ने लाग्थ्यो । गर्भवतीका स्वास्थ्य समस्याबारे कुरा गर्दा उनका सबै समस्या आधुनिक औषधिले ठीक पार्छजस्तो लाग्थ्यो ।

धेरै छोरी जन्माएपछि ‘छोरा’ जन्माउन अस्पताल आउने महिलालाई म हकार्थें । ‘किन परिवार नियोजनको साधन प्रयोग नगरेको रु भनेर प्रश्न गर्थें ।

अपशोच ! त्यो वेला मैले बुझेको थिइनँ, उनीहरूलाई सामाजिक बाध्यता, विवशता, धार्मिक रुढिवादले कसरी गालेको छ, उनीहरू किन बारम्बार बच्चा जन्माउन विवश छन् रु काम गर्न सुरु गरेको १० वर्षपछि मात्र मैले बुझेँ कि महिलाको स्वास्थ राम्रो वा नराम्रो हुनु, उनीहरूमा कुपोषण हुनुमा कति धेरै सामाजिक, राजनीतिक कारण रहेछन् । मेरा दुई छोरी जन्मिएपछि जब बारम्बार ‘छोरा कहिले पाउने ?’ भनेर समाजले प्रश्न गर्न थाल्यो अनि पो मैले बुझेँ, बच्चा धेरै जन्माएकामा मैले हपारेका गरिब, अशिक्षित महिला कसरी विवशताको सिकार भएर बारम्बार बच्चा जन्माउन विवश भएका रहेछन् ।

यसरी एकपछि अर्को बच्चा जन्माउँदा उनीहरूको ज्यानै जान सक्ने भए पनि परिवारले वास्ता नगर्ने रहेछन् ।

२००६ मा गर्भवतीको रक्तअल्पता प्रतिशत ३६ प्रतिशत थियो । स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई रगतको कमी घटाउन आइरन चक्की बाँड्ने कार्यक्रम धुमधामसँग ल्यायो । तर, २०१६ मा आएर सरकारी तथ्यांकले नै देखायो— गर्भवतीमा रक्तअल्पता ४३ प्रतिशत भएछ । अर्थात् झन् बढेछ ।

यो तथ्यांक त सम्पूर्ण नेपालको भयो, प्रदेश नं २ मा त यो ५५ प्रतिशत छ । यदि दलित महिलाबीच मात्र तथ्यांक संकलन गर्ने हो भने सायद ८० प्रतिशत गर्भवतीमा रक्तअल्पता र कुपोषण पाइन्छ । नेपाली महिलाको शरीरमा रगत कम हुनुको अर्थ उनलाई सूक्ष्म पोषक तत्व, प्रोटिन आदिको कमी मात्र होइन, उनको पारिवारिक र सामाजिक अवस्था पनि दयनीय छ भन्ने देखाउँछ ।

नेपालको स्वास्थ्य मन्त्रालयचाहिँ केवल फोलिक एसिड र आइरन ट्याबलेट मात्र बाँडेर बसिरहन्छ । यो योजना असफल भइसक्यो भने पनि त्यही काम देहोरिइरहन्छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भनेका थिए— आइरन र फोलिक एसिड मात्र बाँडेर नहुने रहेछ । अब हामी भिटामिन बी १२ पनि बाँड्ने तयारी गर्दै छौँ । स्वास्थ्य चौकी र स्वास्थकर्मीले मात्र महिला स्वास्थ्य समस्या हल गर्न सक्दैनन् भन्ने यथार्थ स्वास्थ्य मन्त्रालयका अधिकारीले कहिल्यै बुझ्न सकेनन् । मन्त्रीहरूले त झन् बुझ्ने कुरै भएन । उनीहरू त ‘आयाराम गयाराम’ नै भइहाले ।

दलित महिला गरिब छन्, खाना छैन, शिक्षा छैन । श्रीमान्ले मजदुरी गरेर ल्याएको रकम उसैले प्रायः मद्यपानमा उडाउँछ । दलित महिलाको सानैमा विवाह हुन्छ, धेरै बच्चा जन्मिन्छन् उनको स्वास्थ्य चौकीमा पहुँच छैन । यस्ता धेरै सामाजिक र आर्थिक समस्या छन्, जसले गर्दा सीमान्तकृत महिलाको स्वास्थ्य स्थिति राम्रो छैन ।

अपागंता भएका महिलाको मानसिक र प्रजनन स्वास्थ्यबारे पनि प्रायः छलफल हुँदैन । दलित र गाउँले महिलामा अपांगता छ भने त उनको स्वास्थ्य अवस्था झनै नराम्रो हुन्छ ।
कर्णालीका महिला र तराईका दलित महिलाको स्वास्थ्य स्थितिसम्बन्धी तथ्यांक हेर्ने हो भने त झनै डरलाग्दो अवस्था देखिन्छ । स्वास्थ्य र शिक्षा दुवैलाई राजनीतिले निर्देशित गर्छन् । कुनै देशको राजनीतिले जनताको पक्षमा काम गर्छ भने, त्यहाँको महिला स्वास्थ्य स्थिति राम्रो हुन्छ ।

नेपालमा सम्भावना धेरै भए पनि राजनीतिक नेताहरूको बेवास्ताले महिला र सीमान्तकृत समुदायको स्वास्थ्य स्थिति भयावह छ ।छोरी भ्रूण भन्ने थाहा पाएपछि गर्भपतन गराउने गलत संस्कारले केही वर्षपछि नेपालमा सामाजिक समस्या निम्त्याउने अवस्था छ ।

महिलाको शरीरलाई ‘औषधीकरण’ गरिएको छ । गर्भावस्था र सुत्केरी सामान्य हुन् भन्ने तथ्य बिर्संदै गइरहेको छ । महिलालाई हड्डी बलियो पार्न वाहियात खाना खान सिकाइन्छ, तर हाम्रा स्वस्थकर खानाबारे छलफल नै गरिन्न ।

महिला स्वास्थ्यबारे चर्चा गर्दा मानसिक स्वास्थ्य त ओझेलमा परेको छ । यहाँ महिला स्वास्थ्य विषयमा एउटा किताब लेख्न सकिन्छ । नेपाली महिलाको स्वास्थ्य सुधार गर्न अहिले भएका कतिपय नीति सुधार गर्नुपर्छ र राम्रा नीतिलाई व्यवहारमा ल्याउनुपर्छ । तर अपशोच ! यो कसैले गर्दैन ।

महिलाको जीवन र स्वास्थ्यबारे वामपन्थी नेताले चर्का नारा लगाउँथे । अहिले उनीहरू ‘इन्ज्वायमेन्ट जोन’ अर्थात् ‘यौनको मैदान’ खोलेर पर्यटकलाई आनन्द र महिलालाई आर्थिक अवसर दिन उद्यत छन् । यस्ता नेताले पहिले आफ्ना छोरीबुहारीलाई यस्तो जोनमा पठाएर, उनीहरूको आर्थिक व्यवस्था र स्वास्थ्यमा सुधार ल्याए हुन्थ्यो नि !