पर्सा । पर्साको १५ वर्षीया किशोरी मुस्कान खातुनलाई एसिड प्रहार गरेका १९ वर्षीय किशोर समशाद मियाँलाई प्रहरीले पुनः पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका ७ घर भएका मियाँलाई बुधबार पक्राउ गरेको हो ।
१५ वर्षीया मुस्कान खातुनलाई २०७६ भदौ २० गते बिहान वीरगंज महानगरपालिका- ४ गणेशमान चोकमा एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए । अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुन बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय पाएका मियाँ फरार रहेका थिए ।
मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका २ ईदगाहबाट फेला पारी पक्राउ गरेको हो । यस अघि भने ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्काल १७ वर्षीय मियाँलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएको थियो ।
पिडित किशोरी मुस्कान खातुन यसअघि अन्तराष्ट्रिय साहसी महिला अवार्डबाट पनि सम्मानित भईसकेकी छिन् ।