काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभरिका नेता कार्यकर्ताले चुनावमा तालमेल गर्नु हुँदैन भन्ने पक्षमा रहेको बताउनु भएको छ । काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेसको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफुले पछिल्लो साता ५० भन्दा बढी जिल्लाका नेता कार्यकर्तासँग कुराकानी गर्दा सबैले चुनावमा तालमेल नगर्न सुझाब दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘देशैभरिका साथीहरुले तालमेल गर्नु हुँदैन भन्ने मत राखिरहनुभएको छ । बरु हार्नु परे हारौँला, तर रुखबाहेकमा भोट हाल्दैनौँ भनेर फोन आउँछ । हुन पनि हो, दलीय व्यवस्थामा निर्वाचनपछि दलहरु मिलेर सरकार बनाउने कुरा स्वीकार्न सकिन्छ । तर, निर्वाचनमा नै तालमेल गर्नुहुदैन, किनभने यो विचार जोडिएको कुरा हो,’ थापाले भने, ‘यस्तो अवस्थामा अहिले हामीले केन्द्रबाट गठबन्धन थोपर्यौँ भने त्यसको नतिजा हामीले सोचेको भन्दा फरक आउन सक्छ । मैले गठबन्धन र पार्टीको शीर्ष बैठकमा यही कुरा राख्दै आएको छु । अहिले बस्ने बैठकमा पनि म यही कुरा राख्छु ।’
प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले भन्नुभयो ‘अब धेरै दिन छैनन् । हामीले उम्मेदवार चयनमा ढिला गरिसक्यौँ । गठबन्धन हुने कुरा नभएको भए हामीले चैत्र मसान्तभित्रै उम्मेदवारको टुंगो लगाइसक्थ्यौँ,’ उनले भने, ‘तर गठबन्धनको कारण केही ढिला भएको छ । अब एक दुई दिनभित्रै उम्मेदवारको टुंगो लगाएर टोल टोलमा मतदातामाझ जानुहोस् । मनोनयन दर्तापछिको प्रचारका लागि पर्याप्त छैनन् ।’
सत्तागठबनधनका बीच भागबण्डाको बिषयमा रस्साकस्सी हुँदा महामन्त्री थापाको यस्तो प्रतिक्रिया आएको हो ।