२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिन्छ – ओली



अ+ अ-

लुम्बिनी । (नेकपा एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय टावरको आज उद्घाटन गर्नुभयो ।

तिलोत्तमा नगरपालिका–२ स्थित शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण गरिएको हो । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ वार्षिक साढे तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

त्यस अवसरमा अध्यक्ष ओलीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

उहाँले लुम्बिनी सबैको आँखामा पर्ने स्थान रहेको र त्यसको प्रवद्र्धनका लागि तिलोत्तमाले अघि बढाएका कार्यहरु प्रशंसनीय रहेको बताउँदै यसले नगरपालिकालाई नियमित आम्दानी दिने उल्लेख गर्नुभयो ।

उहाँले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको खुला पोलिथिन निषेध अभियानलाई व्यापक बनाइनुपर्नेमा जोड दिनुभयो । आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने बताउँदै उहाँले भान्सालाई औषधालयको रुपमा विकासगर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नगर प्रमुख वासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको आम्दानीको स्रोत हुने बताउनुभयो । नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

टावरमा होटल, रेष्टुराँ, कफिशप, डिपार्टमेन्टल स्टोर, लाईब्रेरी, अन्य विभिन्न सेवा केन्द्र तथा दुरदृश्यावलोकन सेवा उपलब्ध हुनेछ । एघार तल्ले उक्त टावर १३४ फिट अग्लो छ । विसं २०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले यस टावरको शिलन्यास गर्नुभएको थियो ।

टावरको भूइँ तलाको क्षेत्रफल तीन हजार ५९५ वर्ग फिट छ । टावर २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको योजना प्रमुख वनले जानकारी दिनुभयो । नगरपालिका र वनवाटिकाको लागत साझेदारीमा निर्माण भएको टावरको लागत रु ११ करोड ४५ लाख हो । टावरसँगै आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचनासमेत निर्माण हुनेछन् । लिफ्ट सुविधासहित बनेको टावरसँगै दुई बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचना निर्माणको काम पनि अघि बढेको छ ।

टावरको उत्तरतर्फ स्विमिङ पुल र अगाडि म्युजिकल फाउन्डेस निर्माण गरिने योजना रहेको नगरपालिकाले जनाएको छ । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहर देख्न सकिने जनाइएको छ ।