काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं अर्थविद् डा .चन्द्रमणी अधिकारी सामाजिक सञ्जाल ट्वीटरमा लेख्छन्ः “कहिलेकाहिँ मलाई आश्चर्य लाग्छ, किनभने अहिले नेपाली समाजमा यस्तो वर्ग बढेको छ, जसको कुनै उद्योग व्यवसाय छैन, पेशा गरेको पनि देखिँदैन, रोजगारी पनि देखिँदैन, तर त्यो वर्गका ठूला आलिसान बंगला छन्, परिवारका हरेक सदस्यसँग बिलासी सवारी साधन छन् ।”
नेपाली समाजको मौलाएको यो प्रवृत्तिप्रति डा अधिकारीको मात्र होइन, धेरैको जिज्ञासा छ । आखिर यतिविधि सम्पन्नता कसरी प्राप्त भइरहेको छ ? प्रश्न सबैका मनमा छ, र धेरैले अनुमान पनि गरिरहेका छन्ः यस्तो अधिकांश सम्पत्तिको प्राप्ती राज्यस्रोतकै दोहन हुनुपर्छ, र त्यो पनि अनधिकृत रुपमा ।
डा.अधिकारीको यो प्रश्न ट्वीटरमा पोस्ट हुन नपाउँदै केही मानिसले निकै संवेदनशील भएर आफ्ना धारणा अभिव्यक्त गरेका छन् । पूर्व मुख्य सचिव एवं चीनका लागि पूर्व नेपाली राजदूत लिलामणी पौडेल तीन शब्द लेख्नुहुन्छः “… ऐयासी जीवनशैली छ ।” उहाँको यो ठम्याई एक्लो छैन ।
अर्का व्यक्ति लक्ष्मीदत्त जोशी एक जना गुरुको भनाई उद्धृत गर्दै अगाडि भन्नुहुन्छ, “एक जना गुरुले त जागिर छोडेर उपभोक्ता समितिमा घुसेका, १२ वर्ष जागिरमा नकमाएको ४ वर्षमै ४ गुना कमाएँ भन्दैथे ।” हुन पनि उपभोक्ता समितिका नाममा देशभर राज्यस्रोतको दुरुपयोग भएका समाचार, विश्लेषण र अध्ययन प्रतिवेदन सार्वजनिक भइरहेका छन् । यसलाई नियन्त्रण गर्नेतर्फ कुनै पनि निकायले पर्याप्त काम नगरेको अध्ययनले देखाएका छन् ।
लक्ष्मण बहादुर बस्नेतको विचार पनि उस्तै छ, “भनिन्छ नेपालको राजनीति अब सेवा होइन, धन्धा भएको छ ! अकुत धन आर्जनका निम्ति राज्यसत्ताका सबै संयन्त्र कब्जा गर्ने दरिलो पेशा भएको छ ! स्थायी रुपमा आयआर्जनका लागि राजनीति आकर्षक केन्द्रविन्दु बनेको छ !” के बस्नेतको यो भनाईमा सत्यता होला ? राजनीतिलाई विकृत बनाएर भ्रष्टाचार मौलाएको कुरा कतै लुकेको छैन । जसले बढी रकम दिन्छ उही सांसद र मन्त्री हुने खेल जारी छ भने नातागोता, आफन्त र नजिकका व्यक्तिलाई समानुपातिक कोटाबाट सांसद बनाउनेक्रम रोकिएको छैन । मानिसहरु कराउँदै गर्छन्, भन्दै गर्छन्, पत्रकारहरु लेख्दै गर्छन् तर यो विकृति रोकिने कुनै छाँटकाँट देखिन्न । सुदर्शन खतिवडाको टिप्पणी छ, “नातागोता सबै लुटनीतिमा अनि भव्यता देखिन पेशा, व्यवसाय र रोजगारीको जरुरी पर्ला र ? लुटनीतिको विशेषता, योग्यता र आवश्यकता भनेकै अपराध कर्ममा विज्ञता हो, त्यसमा यी अब्बल एवं बेजोड छन् ।”
भ्रष्टाचार र जग्गा दलालीमा पनि नेताहरुको विशेष अभिरुचि रहेको केहीको टिप्पणी छ । विष्णु प्रसाद गौतम लेख्नुहुन्छ, “मुख्य दुई स्रोत जस्तो लाग्छः भ्रष्टाचार र जग्गा दलाली । भ्रष्टाचारले विकास खर्चको ठूलो हिस्सा चुँडाउँछ भने जग्गा दलाली चुम्बक जस्तो रहेछ र रेमिट्यान्सबाट आउने फलामे धुलोलाई च्वाप्प समातेर डल्लो पार्दो रहेछ ।” अर्जुन आचार्यको टिप्पणी अझ खरो छ, “राज्य आफैं तस्कर भएर । सम्पत्तिको स्रोत नखोज्ने कमजोर र निरीह देखिएका कारणले यो आपराधिक समूह मौलाउने मौका पायो । विशाल भवन र महंगा गाडीको स्रोत खोजिदैन, सब दलाल भ्रष्टहरुको बिगबिगी ।”
विदुर चन्द्र लामिछानेको विचारमा देशको राजनीति र प्रशासन माफियाको हातमा गएको संकेत हो । उहाँ नेपाल अझै संकटमा फस्ने अनुमान गर्नुहुन्छ । अरुण लुईंटेलको प्रश्न छ, “राजनीति नै व्यापार भएपछि अरु कुन व्यापार देखिनु पर्र्यो र ?”
बरिष्ट चार्टर्ड एकाउन्टेट सतिश चन्द्र लालको टिप्पणी छ, “कर तिर्नेलाई ३०० प्रतिशत जरिवाना र शुल्क लगाउने ऐन बनाउने संसद र तिराउने कर्मचारीलाई थाहा होला ।”
पर्वत पोर्तेलको नेपालको राजनीतिका विसंगतिलाई लिएर लेखेको जानकारीमूलक स्टाटस पनि उत्तिकै रोचक छ । झापा र मोरङको दुई दिने भ्रमणमा निस्कनु भएका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उठबसका बारेमा उहाँ लेख्नुहुन्छ, “दिउँसो दुर्गा प्रसाईंको ८ करोडको गाडीमा चढेर ब्रेकफास्ट, बलराम सापकोटा उर्फ “बले”को होटल मेची क्राउनमा डिनर अनि मोती दुगढको काकडभिट्टास्थित ह्यारिसनमा लन्च ।”
यो त एउटा उदाहरण मात्र हो । यस किसिमको प्रवृत्ति हरेक ठूला दलका नेता एवं कार्यकर्ता र उनीहरुका आडमा रहेका नेता, कार्यकर्ता, व्यापारी, तस्कर, गुन्डा इत्यादिमा व्याप्त छ । देशलाई भ्रष्टाचार र कुशासनको चङ्गुलमा पारेर दलगत एवं व्यक्तिगत शोषणमा लिप्त रहिरहे राष्ट्रको आर्थिक, सामाजिक र अन्य विकासको परिकल्पना गर्न सकिन्न । देशमा अस्थिरता थप बढ्नुका साथै अराजक स्थिति उत्पन्न हुन सक्छ ।