टोक्योः जापानका प्रधानमन्त्री फुमिओ किशिदाले संसदको निर्वाचनमा आफ्नो गठबन्धनले बलियो बहुमत सहित विजय प्राप्त गरेको सोमबार घोषणा गर्नु भएको छ ।
प्रधानमन्त्रीमा चुनिएको एक महिनाभित्रै भएको आम निर्वाचनमा विजय हासिल गरेपछि बोल्दै प्रधानमन्त्री किशिदाले विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको अर्थतन्त्रलाई थप सुदृढ गर्ने बताउनुभयो ।
उहाँले कोरोनाभाइरस महामारीबाट असर परेको अर्थतन्त्रलाई सक्षम बनाउन राहत प्याकेज घोषणा गर्न लागेको र त्यसको मस्यौदा यही नोभेम्बर महिनामा तयार पारिने दृढता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री किशिदाले एसियामा शून्य उत्सर्जनका लागि जापानले अग्रणी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले स्कटल्यान्डको ग्लास्गोमा आयोजित कोप२६ को शिखर बैठकमा भाग लिन जानुअघि यस्तो धारणा राख्नु भएको छ ।
जापानमा लामो समयदेखि शासन चलाइरहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको सानो साझेदार दल कोमेटोले ४६५ सदस्यीय संसदमा २९३ स्थान जितेका छन् । स्थानीय सञ्चार माध्यमले संसदको तल्लो सदनमा यस गठबन्धनले विजय हासिल गरेको बताए पनि आधिकारिक निर्वाचन परिणाम घोषणा हुन भने बाँकी छ ।
एलडीपी एक्लैले २६१ स्थान जितेको बताइएको छ । यसअघिको निर्वाचनमा एलडीपीले २७६ स्थानमा विजय हासिल गरेको थियो ।
एलडीपीको विजयसँगै जापानको स्टक एक्सचेन्ज निक्की स्टक एक्सचेन्जमा २ प्रतिशतभन्दा बढीको उछाल आएको थियो ।
प्रधानमन्त्री योशिहिडे सुगाले राजीनामा दिएपछि किशिदा जापानको प्रधानमन्त्री बन्नु भएको थियो ।
जापानमा करिब १८ हजार व्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु भएको थियो । जापानले भाइरस संक्रमण रोक्न भन्दै लकडाउन गरेको थियो, जसका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको थियो । एजेन्सी