४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्त प्रकरणः थप चार जनाको डिएनए पनि मिलेन, शंकास्पद सबैको डिएनए परीक्षण गरिने



अ+ अ-

काठमाडौं, ३० कात्तिक – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा प्रहरीले थप चार जनाको डिएनए परीक्षण गरेको छ । तिहारअघि नै उनीहरूको डिएनएको नमूना काठमाडौं पठाइएको थियो । परीक्षणमा ती शंकास्पद चारै जनाको डिएनए पनि नमिलेको प्रहरीले बताएको छ ।

‘हामीलाई शंका लागेका चार जनाको डिएनए तिहारअघि नै संकलन गरेर पठाएका थियौं,’ कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्ण ओझाले भने, ‘उनीहरूको डिएनए र निर्मलाको भेजाइनल स्वाबबाट लिइएको नमूना आपसमा नमिलेको रिपोर्ट आएको छ।’

यसअघि प्रहरीले अभियुक्त भनी पक्रेका दीलिपसिंह बिष्टको डिएनए पनि निर्मलाको भेजाइनल स्वाबको नमूनासँग मिलेको थिएन । प्रहरीले कञ्चनपुरका तत्कालीन एसपी दील्लीराज बिष्ट, उनका छोरा र भीमदत्तनगरका मेयरका भतिजाको पनि डिएनए परीक्षण गरेको थियो। उनीहरूको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

यसैबीच केन्द्रीय प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले विज्ञहरूको सल्लाह लिएर सबै पाटाबाट यो घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

निर्मलाको गत साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको शव फेला परेको थियो। घटनाको तीन महिनासम्म दोषी पत्ता लगाउन नसकेको भन्दै निर्मलाका बुवाआमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनिश्चितकालीन धर्ना बसेका छन् ।

हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ । सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको हो ।
‘शंकाको घेरामा परेकाको बिस्तारै डिएनए जाँच गर्दै जान्छौं’, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । डिएनए जाँच वैज्ञानिक कुरा भएकाले यसलाई आधार मानेर अघि बढ्ने प्रहरीको योजना छ । ‘डिएनए एउटै जनाको मिल्ने हो। यो भरपर्दो हो।’ विश्वका अन्य देशमा पनि डिएनएलाई आधार मानेर अपराधी पत्ता लगाएको उदाहरण रहेको काडायतको भनाई छ ।

बेलायतमा एउटै केसमा अपराधी पत्ता लगाउन ७ हजारजनाको डिएनए गरेको र हालै पाकिस्तानमा १२ सयको जाँच गरेको उदाहरण उनले दिए । ‘एउटै केसका लागि ७ हजारजनासम्मको डिएनए जाँच गरिएका उदाहरण छन् । एकजनाको मिल्ने हो, ढिलोचाँडो जे भए पनि डिएनए भरपर्दो हो’ । निर्मलाको हत्यारा पत्ता लगाउन प्रहरीले दुई सयभन्दा बढी जनासँग सोधपुछ गरिसकेकाप्रहरी अधिकारीहरु बताउँछन् । जिल्लाको प्रहरी टोली र केन्द्रीय अनुसन्धान प्रहरी ब्युरो (सिआइबी) को टोलीले संयुक्त रुपमा अनुसन्धान गरिराखेको छ । सिआइबीले प्राविधिक कुरालगायतमा सपोर्ट गरिरहेको छ ।

प्रहरीले एक हजारभन्दा बढी व्यक्तिको कल डिटेल जाँच गरेको छ । ‘कल डिटेल जाँच गरिसकेको र फिल्टर गर्ने काम भइरहेको ।’प्रहरी स्रोतले भन्यो । यसैगरी जिल्ला र केन्द्रमा शंकास्पद व्यक्तिका सामाजिक सञ्जालको स्टाटस केलाउने काम पनि प्रहरीले गरिरहेको छ । सोधपुछ, कल डिटेल, सामाजिक सञ्जाल केलाउँदा शंकास्पद देखिएका सबैको डिएनए जाँच गर्ने तयारीमा प्रहरी छ ।

सिआइबीको टोलीलेजिल्लामै बसेर अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धान साँघुरिँदै गएको जनाएको छ । प्रहरीले घटनास्थलवरिपरि र निर्मलाका गाउँका शंकास्पद व्यक्तिका बारेमा पनि सूक्ष्म अनुसन्धान थालेको छ । निर्मला र निर्मला पढ्न गएको रोशनी बमको घरको दूरी १३ सय मिटर छ । दुवै घरको बीचमा रहेको उखुबारीमो निर्मलाको शव फेला परेको थियो ।

डिएनएको विश्वसनीयता र वैधानिकतामाथि प्रश्न उब्जिरहेका बेला प्रहरीले भेजाइनल स्वाब निर्मलाकै भएको दाबी गरेको छ। ‘निर्मलाको रगत जाँच र भेजाइनल स्वाबको डिएनए मिलेको छ’, एसपी कडायत भन्छन् , ‘शतप्रतिशत निर्मलाकै भेजाइनल स्वाब हो ।’ भेजाइनल स्वाबमा फेला परेको शुक्रकीटको अवशेषको विकसित डिएनए प्रोफाइलबाट दोषी पत्ता लाग्नेमा उनी विश्वस्त छन् । अहिलेसम्म ९ जनाको डिएनए जाँच भइसकेको छ ।