१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङकाे रिहारमा बिहेको जिप र यात्रुबस ठोक्किए, छ जनाको मृत्यु



अ+ अ-

तुल्सीपुर। दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित छ जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस राति २ बजेतिर ठोक्किएका हुन् ।

मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएकाे छ । मानबहादुर केसी र विमला खत्री बेहुलाका आमा-बुबा हुन् ।

दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरुलाई उपचार गर्न बाँकेको कोहलपुर पठाइएको छ ।

बेहुला र बेहुली भने अर्काे गाडीमा थिए । बुबा-आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो । बसका यात्रुहरु भने सकुशल छन् । शवलाई लमही अस्पतालमा राखिएको छ ।