५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ विमानस्थलमा रात्रिकालीन उडान



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीय हबका रुपमा रहेका विमानस्थल विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान भइरहेको छ । निकट भविष्यमै झापाको चन्द्रगढी र जनकपुरमा रात्रि उडान थालिने उहाँले बताउनुभयो ।

“विमानस्थलबाट पहिला आन्तरिक उडानमा राति जहाज उड्दैन थिए, ६ बजे नै बन्द भइसक्थे, अहिले जाडो यामदेखि राति दैनिक ९ बजेसम्म उडान भइरहेको छ,” क्षेत्रीले भन्नुभयो । रात्रि उडानका लागि अन्तर्राष्ट्रिय विमानस्थलसहित क्षेत्रीय हब विमानस्थलमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ । रात्रि उडान सञ्चालन गर्नका लागि ‘रनवे लाइट’, टर्मिनल भवनको व्यवस्थापन तथा सुरक्षा व्यवस्थालगायतका काम गरिएको छ ।

यसअघि आन्तरिकतर्फ बिहान ७ देखि साँझ ६ बजेसम्मको उडान तालीका थियो । अन्तर्राष्ट्रियतर्फ मात्र रात्रि उडान हुँदै आएको थियो । विमानस्थलका अनुसार रात्रि उडानका लागि गत भदौको दोस्रो साता नै विभिन्न एयरलाइन्सको २५ उडान तालीका स्वीकृत भएको थियोे । बुद्ध एयरलाइन्सको १४, श्रीएयरलाइन्सको चार र यति एयरलाइन्सको सात उडान थिए ।

सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । आन्तरिक टर्मिनल व्यवस्थापनपछि गत भदौ १६ गतेदेखि आन्तरिक टर्मिनल बिहान ५ बजे खुला गरेसँगै अहिले दैनिक २२ घण्टा विमानस्थल सञ्चालन भइरहेको छ । यसले विमानस्थलको चाप कम गर्न र हवाई आगमनलाई सहज तुल्याएको बताइएको छ ।
रासस