२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इएल क्लासिको : मेस्सीका लागि बार्सिलोनाले अन्तिम समयसम्म पर्खिने



अ+ अ-

काठमाडौँ । शनिबार भ्यालेन्सियासँग २–२ को बराबरी खेल्ने क्रममा तिघ्रामा चोट लागेर  घाइते भएका बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई बार्सिलोनाले रियल मड्रिडविरुद्धको खेलमा राख्ने निर्णय गरेको छ ।

तर, मेस्सी खेल्न नखेल्ने निर्णय अन्तिम मिनेटमा हुने बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभेर्डेले स्पेनिस मिडियाहरुसँग बताए ।

सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मड्रिड बुधबार भिड्दैछन् ।

बार्सिलोना र रियलबीचको इएल क्लासिको विश्वकै चर्चित र सबैभन्दा धेरैले हेर्ने फुटबल प्रतियोगिता हो । कोपामा बार्सिलोना र रियलको भेट यसपटक सेमिफाइनलमै भएको छ । यसअघि यी दुई टोली सन् २०१४को फाइनलमा भिडेका थिए । त्यतिवेला रियल विजयी भएको थियो ।

भ्यालेन्सियासँग खेल्ने क्रममा घाइते भएका मेस्सी मंगलबारको अभ्यासमा फर्किएका छन् तर, रियलविरुद्ध खेल्नेमा शंका छ ।


‘कहिले काँही खेलाडीको अवस्थामाथि आशंका हुन्छ र अन्तिमसम्म पर्खिनु पर्ने हुनसक्छ’ प्रशिक्षक भालभेर्डेले भनेका छन्, ‘अहिले मेस्सीको हकमा यस्तै भएको छ ।’

बुधबार क्याम्प नाउमा हुने खेल २५ दिनभित्र हुने तीन इएल क्लासिको मध्ये पहिलो हो । दोस्रो लेग २७ फेब्रुअरीमा हुनेछ भने ला लिगाको क्लासिको २ मार्चमा हुनेछ ।

बुधबारको खेलका लागि बार्सिलोनाका फर्वाड उस्मान डेम्बेले पनि फिट हुनेमा शंका छ । रियल मड्रिडको टिममा भने महत्वपूर्ण खेलाडीहरु उपलब्ध छन् ।

गत अक्टोबरमा भएको इएल क्लासिकोमा पनि मेस्सी खेलेका थिएनन् । उनको हात भाँच्चिएको थियो । तर, लुइस स्वरेजको ह्याट्रिकको मदतमा बार्सिलोनाले ५–१ को जित निकालेको थियो ।

मेस्सी खेल्न सकेनन् भने बार्सिलोनालाई दवाव पर्ने देखिन्छ । मेस्सीको अभावमा बार्सिलोनाका लागि लुइस स्वारेज र फिलिपे कोउटिन्होको जिम्मेवारी बढी हुनेछ ।

यसैगरी ला लिगाको सुरुवाती खेलमा कमजोर देखिएको रियल अहिले लयमा छ । रियलले बार्सिलोनाविरुद्ध पनि राम्रो लय समात्ने दावी गरेको छ । रियले बार्सिलोनाविरुद्ध रोजाईका खेलाडी करिम बेन्जेमा, ग्यारेथ बेल र भिनिसियस जुनियरलाई उतार्ने तयारी गरेको छ ।