३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको अर्को बह्रलुट, सुटुक्क ४० करोड २० लाख भुक्तानी



अ+ अ-

काठमाडौं । सरकारले प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तार गर्न युटिएलसँग भएको सम्झौता खारेज गर्ने निर्णय लिएको भोलिपल्ट नेपाल दूरसञ्चार प्राधिकरणले उसलाई ४० करोड २० लाख भुक्तानी दिएको छ ।


सम्झौता अवधि सकिनै लाग्दासमेत परियोजनाको काम अगाडि नबढाएको भन्दै सोमबारको मन्त्रिपरिषद् बैठकले युटिएलसँगको सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणले मंगलबार परियोजनाको अग्रिम भुक्तानीबापतको रकम युटिएल र उसको संयुक्त उपक्रम कम्पनीका नाममा निकासा गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले युटिएलसँग भएको परियोजनाको काम नेपाल टेलिकमसँग सम्झौता गरी अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको बताए । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक हुनुअघि नै सम्बन्धित निकायलाई पत्राचार हुने गरेको छ । तर, सरकारले निर्णय गरेको भोलिपल्ट सम्झौता खारेज भएको कम्पनीलाई भुक्तानी दिनु ठूलो बदमासी भएको एक सरकारी अधिकारीले बताए ।

ग्रामीण दूरसञ्चार विकास कोषबाट २ अर्ब १ करोड अनुदानमा प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तार गर्ने गरी प्राधिकरणले १४ वैशाख ०७४ मा युटिएलसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार युटिएलले १४ वैशाख ०७६ भित्र गोरखाको आरुघाटदेखि बाग्लुङको बुर्तिबाङसम्मको मध्यपहाडी लोकमार्ग तथा प्रदेश ४ र ५ मा पर्ने २१ जिल्लामा दूरसञ्चार पूर्वाधार निर्माण गरिसक्नुपर्ने थियो । तर, परियोजनाको काम अगाडि बढाउनुको साटो युटिएलले संयुक्त लगानीको कम्पनीमार्फत काम गर्ने भन्दै ठेक्का नै बिक्री गरेको थियो ।

संसद्को अर्थ समितिले सरकारलाई तिर्नुपर्ने बक्यौता चुक्ता नगर्ने दूरसञ्चार कम्पनीहरूलाई थप सुविधा र पुँजी वृद्धिलगायतका सेवा विस्तार अनुमतिसमेत नदिन प्राधिकरणलाई निर्देशन दिएको थियो । एक महिनाभित्र बक्यौता असुल गर्न, सो अवधिमा समेत रकम नबुझाए सरकारी बाँकीसरह असुलउपर गर्न र अनुमतिपत्र रद्द गर्नेसम्मको कारबाही प्रक्रियासमेत अगाडि बढाउन समितिले भनेको थियो । युटिएलले सरकारलाई ८० करोड रुपैयाँभन्दा बढी बक्यौता बुझाउन बाँकी छ । तर, त्यसरी बक्यौता नै नतिर्ने कम्पनीलाई खारेजीको प्रक्रियामा लैजानुको साटो प्राधिकरणले उल्टै ४० करोड रकम भुक्तानी गरेको हो ।

केही समयअघि सर्वोच्च अदालतले युटिएलको संयुक्त उपक्रम कम्पनी टेलिइन्फ्रालाई परियोजनाको अग्रिम भुक्तानी दिन प्राधिकरणका नाममा आदेश दिएको थियो । नियामक दूरसञ्चार प्राधिकरणबाट कोषअन्तर्गतको अनुदान परियोजनामा त्रुटिपूर्ण रूपमा दिइएको जेभी अनुमतिलाई आधार मान्दै उच्च अदालत पाटनले १० वैशाखमा संयुक्त उपक्रमका नाममा युटिएलको ठेक्का बिक्रीलाई वैधानिकता दिएको थियो । उच्च अदालतको उक्त आदेश खारेजीको माग गर्दै प्राधिकरणले १७ असारमा सर्वोच्चमा भ्याकेट दर्ता गरेको थियो । त्यसउपर सुनुवाइ गर्दै हालका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र विमलकुमार श्रेष्ठको संयुक्त इजलासले २९ भदौमा प्राधिकरणको भ्याकेट खारेज गरेको थियो ।

दूरसञ्चार ऐन २०५३ को दफा ३० को उपदफा ६ मा ग्रामीण दूरसञ्चार विकास कोषबाट दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालन गर्न प्राधिकरणले कुनै अनुमतिपत्र प्राप्त भएको व्यक्तिलाई तोक्न सक्ने स्पष्ट व्यवस्था गरेको छ । प्राधिकरणसँगको परियोजना सम्झौताअघि नै अनुमतिपत्र लिइसकेका कम्पनीहरूले मात्रै आपसमा मिलेर संयुक्त रूपमा ९जेभी० परियोजना निर्माण गर्न सक्ने आरटिडिएफअन्तर्गतका परियोजनाका लागि तयार पारिएको बोलपत्र आह्वानसम्बन्धी प्रतिवेदन (आरएफए) मा स्पष्ट उल्लेख छ । तर, ऐनमा भएको व्यवस्थाविपरीत लाइसेन्स नै नलिएको कम्पनीलाई आरटिडिएफको काम गर्न पाउने आदेश नै त्रुटिपूर्ण देखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।