काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्वतन्त्र मधेसको पक्षमा प्रदर्शन गर्दा पनि प्रहरी प्रशासन चुप लागेर बस्नुले सरकार सहमतिमा गम्भीर नभएको आरोप लगाएका छन् । सिंहले सहमतिको भोलिपल्टै सिके राउतका कार्यकर्ताहरुले धनुषामा सरकारसँग भएको सहमतिको विपरीत गएर स्वतन्त्र मधेसको नारा लगाउनुले सरकारको सस्तो लोकप्रियताको अर्को एउटा उदाहरण भएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘स्वतन्त्र मधेस अभियानलाई रोक लगाउन सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरे कै होइन रहेछ भन्ने कुरा हामीले देखेका छौं र पछिलो घटनाक्रमले पनि देखाएको छ ।’ उनले सरकारले गरेको सहमति विपरीत गएर राउतका कार्यकर्ताहरुले गरेको प्रर्दशनलाई सकारात्मक रुपमा लिन नसकिने उल्लेख गरे ।
सिंहले सिके राउतसँग भएको सहमति धेरै नटिक्ने संकेतको रुपमा यसलाई लिन सकिने बताए । उनले भने, ‘सरकारको अरु कदमजस्तै यो पनि सस्तो लोकप्रियता कमाउने, त्यसको टिकाउ धेरै नहुने अर्को कुराको उदाहरणको रुपमा हामीले यसलाई लिन सक्छौं ।’
सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको भोलिपल्ट गृहमन्त्री रामबहादुर थापा (बादल)ले संसदमा जवाफ दिइरहेको बेला धनुषामा उनका कार्यकर्ताहरुले स्वतन्त्र मधेस लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए । उनीहरुले ‘स्वतन्त्र मधेस जिन्दावाद’का नारा लगाएका थिए ।