काठमाडौं । गोरखापत्र दैनिकमा कार्यरत तामाङ पत्रकार संघका पूर्वसचिव एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सदस्य शान्ति लामामाथि हातपात गरिएको छ ।
शनिबार बिहान काठमाडौंको कीर्तिपुर नगरपालिका–५ स्थित भत्केकोपाटी जाखामा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी स्थलगत रिपोर्टिङ गर्न गएका लामामाथि एक समूहले दुव्र्यवहार एवं आक्रमण प्रयास गरेका थिए । सार्वजनिक कुवा, गोरेटो बाटो र खानेपानीको लाइन मिचेर बनाइएको घरको केही भाग स्थानीयबासीको एक समूहले भत्काउँदै गरेको तस्बिर खिच्दै गर्दा पत्रकार लामामाथि दुव्र्यवहार भएको हो । तस्बिर खिच्न प्रयोग गरिएकोे मोबाइल जबर्जस्ती खोसि भौतिक आक्रमण गर्ने उद्देश्यले लछारपछार गरिएको थियो ।
फोनिजको आज प्रेस विज्ञप्ती गर्दै निर्वाध रुपमा समाचार संकलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने यसप्रकारको प्रेस स्वतन्त्राता विरोधी हर्कतको घोर भ्रत्सना गरेको जनाएको छ । उक्त घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र स्वतन्त्र रुपमा बिनाअवरोध समाचार संकलन गर्न पाउने अधिकार सुनिश्चिततासहित पत्रकारका लागि सुरक्षाको प्रत्याभूति गर्न विज्ञप्तीमा सरकारसँग माग गरिएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीमाथि शनिबार राति सादा पोषाकमा रहेका प्रहरीहरुले कुटपिट गरेको घटनाप्रति फोनिजको ध्यानाकर्षण भएको सचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
उक्त विज्ञप्तीमा कुटपिटको घोर निन्दा गर्दै घटनामा संलग्नहरुलाई कारबाही गर्न मागका साथै घाइते कार्कीको पूर्ण स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरिएको छ ।