८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण स्थगित गरेका मोदी अगष्टमा भुटान जाने



अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका छन् ।

यस भ्रमणले “छिमेक पहिलो” नीतिप्रति भारत सरकारको उच्च प्राथमिकतालाई प्रतिबिम्बित गर्ने भारतीय अधिकारीहरुले बताएका छन् । दुबै देशबीच रहेको विशिष्ट सम्बन्ध प्रधानमन्त्री मोदीको भ्रमणबाट थप गतिशील र प्रगाढ हुने विश्वास लिइएको छ ।

गत महिना, भारतीय विदेश मन्त्री एस जयशंकरले भुटनाको दुई दिने भ्रमण गर्नुभएको थियो । यो उहाँको विदेश मन्त्रीको हैसियतमा पहिलो औपचारिक भ्रमण थियो ।

उक्त भ्रमणका क्रममा जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङसँग भेटवार्ता गरी द्विपक्षीय सहयोगलाई अझ गति दिनेबारे छलफ गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यता मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदी नेपाल नआउने भएका छन् ।

स्रोतका अनुसार नेपालमा भारत विरोधी गतिविधि सुरु भएपछि मोदीको नेपाल आउने कार्यक्रम तत्कालका लागि स्थगित भएको हो । क्लिन फिड, आइफा अवार्ड, तरकारीमा विषादी परीक्षण लगायतका विषय लिएर नेपालमा भारतको आलोचना भइरहेको छ । यस्तो अवस्थामा आउँदा विरोध हुने डरले तत्कालका लागि भ्रमण स्थगित गरिएको बताइएको छ ।

मोदी नआउने भएपछि पाइपलाइन परियोजनालाई प्रधानमन्त्री मोदीले भिडियो कम्फरेन्समार्फत उद्घाटन गर्ने लगभग तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

पाइपलाइन परियोजनाको उद्घाटन कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले बताए ।

यो परियोजनाका लागि नेपाल–भारतबीच २०७२ भदौ ७ गते सम्झौता भएको थियो । सम्झौता भएको तीन वर्षपछि २०७४ चैत २४ गते दिल्लीबाटै मोदी र ओलीले संयुक्त रूपमा स्विच थिचेर परियोजनाको शिलान्याश गरेका थिए ।

सो पाइप लाइन भारतीय आयल निगमको रु २७५ करोडको लागतमा निर्माण भएको हो । जसमध्ये भारत सरकारको रु २०० करोड तथा सङ्घीय सरकारको रु ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन कार्यालय सिमराले जनाएको छ ।

पदार्थ भण्डारण गर्नको लागि अमलेखगञ्ज आयल निगमको डिपोमा तीन हजार ९०० किलो लिटर क्षमता भएको दुई वटा तथा चार हजार १०० किलो लिटर क्षमता भएको दुई गरी चार ट्याङ्कर मर्मत भएको छ । सो पाइपलाइन सञ्चालनमा आएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ पाइप लाइनबाट भित्रिने छ ।

जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङको पाइप राखिएकोले खिया लाग्दैन । यो परियोजना सञ्चालनमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता नियन्त्रण हुने बताइएको छ ।